भारतीय सीमा नाकामा बढाईयो उच्च सतर्कता

पत्रपत्रिकाबाट

शुक्रबार, ३० पुस २०७८, ०८ : ०२
भारतीय सीमा नाकामा बढाईयो उच्च सतर्कता

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ ।

CG Hills

प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र नेपालगञ्जको जमुनाहा नाकामा हेल्प डेस्कमार्फत एन्टिजेन परीक्षण थालिएको छ ।

होल्डिङ सेन्टरको अनुगमन

प्रदेश १ को जोगबनीस्थित हेल्प डेस्कले दिएको जानकारीअनुसार पुस महिनामा भारतबाट आएका दुई हजार ३९ जनाको कोरोना परीक्षण गर्दा ५९ जनामा पोजेटिभ पाइएको थियो । त्यसपछि भारतसँगका सीमा नाकाहरू पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर र विराटनगरको जोगबनी नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा गरिएको छ । त्यस्तै, चीनतर्फका ओलाङ्चुङगोला र किमाथाङ्का नाका बन्द अवस्थामा छन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोलीले बिहीबार विराटनगर–१६ स्थित निर्माणाधीन होल्डिङ सेन्टर र जोगबनी नाकाको स्वास्थ्य सुरक्षा र परीक्षणको अवस्था अनुगमन गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस