तुलसीपुरमा एकैदिन १५ शिक्षक, विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि

रासस

विहीबार, २२ पुस २०७८, २० : १५
तुलसीपुरमा एकैदिन १५ शिक्षक, विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि

काठमाडौँ । दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १५ जना विद्यार्थी रहेका छन् । आज मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ जना शिक्षक र विद्यार्थीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीका अनुसार आज २५ महिला र २० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै तुलसीपुरमा पछिल्लो चार दिन यता ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमा ओमिक्रोन सङ्क्रमण भएको हो वा होइन भनी परीक्षणका लागि टेकुमा स्वाब सङ्कलन गरी पठाइएको छ । कोरोना देखिएपछि गुरुजजुर माविलाई पुस २७ गतेसम्म बन्दसमेत गरिएको छ । 

आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा सङ्क्रमण पुष्टि भएसँगै पाँच वटा विद्यालयमा कोरोनाको सङ्क्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर–६ स्थित राप्ती बाल एकेडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकहरुमा कोरोना देखिएको थियो । केसीका अनुसार अस्वारामा तीन सुस्तश्रवण विद्यार्थी, छ अन्य विद्यार्थी तथा पाँच शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

 त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विद्यार्थी तथा शिक्षकहरुमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ । पछिल्लो समय शिक्षक र विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए । “विद्यार्थी र शिक्षकहरुमा नै कोरोना देखिएको छ”, फोकल पर्सन विमल केसीले भने, “यसले  स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।”

 विद्यालयमा नै सङ्क्रमण बढी देखिएकाले केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो । प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौँलगायतका स्थानमा ‘टुर’ गएकाहरु रहेको केसीले बताए । उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जीउ दुख्ने समस्या देखिने गरेको छ । प्रायः भेरोसिल, कोभिसिल्ड खोप लगाएकाहरुलाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस