कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट, केन्द्रीय कार्यालयका दुई जना बाहेक सबैलाई कोरोना

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १४ : ०४
कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट,  केन्द्रीय कार्यालयका दुई जना बाहेक सबैलाई कोरोना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमणलाई मध्यनजर गर्दै व्यक्तिगत रुपमा हुदै आएको भेटघाट र शुभकामना आदान प्रदानमा रोक लगाएका छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयले बिहीबार सुचना जारी गर्दै काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जनाएको हो । 

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं’, प्रचण्डको सचिवालयले भनेको छ । 

 केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । 

सचिवालयले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस भइरहेको पनि जनाएको छ । ‘कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं’, प्रचण्डको सचिवालयले भनेको छ ।