प्रदेश २ मा ६ जनाले गराए उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १५ : ५०
प्रदेश २ मा ६ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा २ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपा यादव र श्यामसुन्दर सरदारले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

लोसपा नेपालबाट यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन्  भने सरदारलाई अभिराम शर्माले प्रस्ताव र गौरीनारायण शाहले समर्थन गरेका छन् । त्यस्तै माओवादी केन्द्रबाट उम्मेदार बनेकी अर्यालको प्रस्तावक नगिना यादव र समर्थक सीता साह रहेका छन् । 

त्यसैगरी जसपा नेपालबाट अन्य समूह कोटामा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् ।  यस्तै नेकपा एमालेको तर्फबाट महिला कोटामा बिनादेवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।

साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् भने अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन् । एमालेले सुरुमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निधो गरेपनि अन्तिमसमयमा अन्सारीलाई उम्मेदवारी दर्ता गर्न लगाएको हो  ।

प्रतिक्रिया दिनुहोस