मिलन पाण्डेले किन दिए रवीन्द्र मिश्रलाई चेतावनी ?

सफल खबर संवाददाता

शनिबार, १७ पुस २०७८, ०७ : ५९
मिलन पाण्डेले किन दिए रवीन्द्र मिश्रलाई चेतावनी ?

काठमाडौं । राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको चर्चाका बीच असन्तुष्ट समूहले आपत्ति जनाएको छ । पार्टीको कारबाहीमा परेका मिलन पाण्डे समूहले राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न अध्यक्ष रवीन्द्र मिश्रलाई चेतावनी दिएको हो । 

असन्तुष्ट समूहको तर्फबाट हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाई प्रति आफूहरुको  गम्भीर विमति रहेको उल्लेख गरिएको छ । 

 'यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ। साथै, पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन हामी पार्टी सदस्यहरूलाई अपिल गर्दछौ', विज्ञप्तिमा भनिएको छ ।

मिश्र पक्षले किर्ते दस्ताबेज बनाएर निर्वाचन आयोगलाई बुझाएको पनि असन्तुष्ट पक्षले आरोप लगाएको छ ।  यसबारे आफूहरु अदालत जाने पनि सो पक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस