विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन माग

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १९ : १२
विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि छलफल गरिरहँदा भारतमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्ने व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

विदेशबाटै मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग राख्दै नेपाल, भारत सेती महाकाली प्रवास सेवा समिति भारतले भारतस्थित नेपाली दूतावासको कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएको छ । 

सर्वोच्च अदालतले २०७४ चैत महिनामै विदेशमा रहेका नेपाली नागरिकलाई सोही स्थानबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको स्मरण गराउँदै नेपाल भारत सेती महाकाली प्रवास सेवा समिति भारतले दूतावासमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बझाएको हो । 

‘देशमा स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, 'तर नेपाल सरकारले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने कुनै प्रक्रिया अघि बढाएको देखिँदैन, सर्वोच्च अदालतले जारी गरेको ६ बुँदे आदेशको तत्काल कार्यान्वयन होस् ।’ सरकारले विदेशस्थित नेपाली दूतावासलाई केन्द्र बनाएर विदेशमा रहेका नेपालीलाई मतदान गर्न बाटो खोल्न सक्ने पत्रमा उल्लेख गरिएको छ । 

‘अमेरिकाले राष्ट्रपतिको निर्वाचन हुँदा देश बाहिर रहेका आफ्ना नागरिकलाई हुलाक मार्फत मतदान गर्ने गरी अधिकारको ग्यारेन्टी गरेको थियो’ सेती महाकाली प्रवास सेवा समिति भारतका अध्यक्ष अमर विष्टले भने, ‘नेपालले पनि विदेशमा रहेका नागरिकलाई सो अधिकार दिनु पर्दछ, त्यसका लागि आवश्यक व्यवस्था गरियोस् भनेर हामीले भारतस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हौं ।’ 

विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठुलो टेवा पुर्‍याएको भन्दै अध्यक्ष विष्टले सरकारले रेमिट्यान्स पठाएर सहयोग गर्ने नागरिकको मताधिकार सुरक्षित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस