माओवादी महाधिवेशनः समूहगत छलफल जारी

सफल खबर संवाददाता

मंगलबार, १३ पुस २०७८, २१ : ३५
माओवादी महाधिवेशनः समूहगत छलफल जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रको दोस्रो दिन आज पनि जारी रह्यो।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङद्वारा प्रस्तुत विधान मस्यौदामा दिनभर समूहगत छलफल भएका थियो । समूहगत छलफलका लागि सोमबार २५ समूह गठन गरिएको आज साँझ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्ने तयारी गरेका छन् । समूहगत छलफलका लागि  दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष दाहालद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेको माओवादी केन्द्रले जनाएको छ ।

बुधबार अपरान्ह १ बजेदेखि महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नुहुनेछ । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतीका लागि १५ मिनेटको समय दिइएको छ । 

प्रतिक्रिया दिनुहोस