पाँचथर । भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपलिकामा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो ।
पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ । याङवरक–२ का सन्तप्रसाद बेघाका अनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमा समेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले जानकारी दिए ।
“हिउँ धेरै दिनचाहिँ रहँदैन । तर यसपालि चाँडै हिमपात सुरु भयो”, उनले भने, “हिमपातपछि चिसो अत्यधिक बढेको छ ।” हिमपात भएका क्षेत्रमा चौँरी तथा भेडीगोठ छन् । तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठ गाउँबस्तीको नजिक सारिएका छन् । “गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो”, उनले भने ।
हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ९बिओपी० राखिएका छन् ।
बिओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ पुस २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत
मनाङको माथिल्लो भेगमा हिमपात भएपछि किसान खुसी