देश अभिभावक विहीन भयो : लिङ्देन

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, २० : १८
देश अभिभावक विहीन भयो : लिङ्देन

फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अभिभावक विहीन भएको बताएका छन् । ठूला राजनीतिक दलले परिवर्तनको नाममा देशलाई अभिभावक विहीन बनाएको बताए । परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए । 

देशको प्रगति, विकास र परिवर्तनको बाधक र सबैकुराको दोष राजसंस्थालाई दिएका ठूला पार्टीहरूले राजसंस्था अन्त्यको १४ वर्षसम्म पनि कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए । 'हिजो सबै कुराको बाधक राजसंस्था हो भने, सबै अप्ठ्यारा राजसंस्थाको टाउकोमा थुपारे,' उनले भने, ‘राजसंस्था अन्त्य भएको १४ वर्षभयो, खोइ त देशको प्रगति, खोइ परिवर्तन ? त्यो बेला त एउटा राजालाई पाल्नु परेको थियो, अहिले सयौँ राजालाई पाल्नु परेको छ ।’

उनले चुनावलाई मंहगो र भड्किलो बनाउने, किनेर सांसद मन्त्री बन्ने/बनाउने, संसद्लाई आयआर्जनको श्रोतको रूपमा लिने प्रवृत्ति बढ्दै गएकाले अहिलेको व्यवस्थालाई सुधार गर्न जरुरी रहेको उल्लेख गरे । संसद् पूर्ण समानुपातिक हुनुपर्ने र जनताले चुनेको व्यक्ति प्रधानमन्त्री बन्नुपर्ने र सांसद मन्त्री हुन नपाउने व्यवस्था लागु गर्न सकेमा देशमा सुधार हुने उनको भनाई छ । उनले देशले सेवासुविधा जातका आधारमा नभई गरिबले पाउनुपर्ने व्यवस्था लागिपर्नेमा जोड दिए ।

देश आजसम्मकै कमजोर अवस्थामा रहेको बताए । आँखाले हेर्दा ठिकठाक देखिने देश अहिले प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा कमजोर हुँदै गएको र अभिभावक विहीन अवस्थामा पुगेको जिकिर गरे ।  धर्म निरपेक्ष राष्ट्र बनाउँदा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देश बन्धक बन्दै गएको भन्दै अब देश कसरी सुरक्षित गर्ने भने अवस्था आएको बताए । 

उनले हिन्दु राष्ट्र र राजसंस्था देशको स्थायित्वको आधार भएको बताएका छन् । राष्ट्रिय स्वाधीनताका लागि हिन्दुराष्ट्र र राजसंस्थाको विकल्प नभएको उनले दाबी गरे । 

‘जसरी घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ त्यसरी नै देश बलियो बनाउन, देशको स्थायित्व कायम गर्न हिन्दु राष्ट्र र राजसंस्था चाहिन्छ,' उनले भने, ‘यतिवेला हरेक नागरिकले राजसंस्थाको आवश्कतालाई महसुस गरिरहेका छन् । देशलाई हिन्दुराष्ट्र बनाउनुपर्छ भनेर लागिरहेका छन् ।’

राप्रपाको बिहीबार तुलसीपुरमा भएको लुम्बिनी प्रदेशस्तरीय बृहत् आमसभाको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देश इतिहासकै कमजोर अवस्थामा गुज्रिरहेको बताए । देश सामान्य अवस्थामा चलेको देखिए पनि बिस्तारै आफ्नो स्वाभिमान र पहिचान गुमाउँदै गएको  बताए । 

अहिलेको नेतृत्वबाट देशको परिवर्तन संभव नभएको भन्दै देशको राष्ट्रियता, स्वाधिन्ता र निष्पक्षताको पार्टी राप्रपा मात्र भएको दाबी गरे । उनले आधुनिकताको नाममा कर्म, परम्परा, संस्कृति नर्बिसिएर पनि  देशमा परिवर्तनमा जान सकिन्छ भन्ने मान्यताका साथमा पार्टी स्थापना भएको बताए ।

महामन्त्री डा.धवलसमशेर राणाले देशमा बेतिथिको जालो मौलाएको बताए । यस्तो जालोलाई तोड्नका लागि नागरिक एकजुट हुनुपर्ने बताए । उनले जनतामार्फत देशमा राजासहितको प्रजातन्त्र ल्याउनुपर्ने भन्दै उनले जनताले अब आफ्नो मत देखाउनुपर्ने बेला आएको बताए । उनले मुलुकको परिवर्तनको संवाहक राप्रपा भएको दाबी गरे । पार्टीको आन्दोलनले मुलुकमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस