भरतपुरमा दीप श्रेष्ठको एकल साँझ हुने

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १४ : ५८
भरतपुरमा दीप श्रेष्ठको एकल साँझ हुने

चितवन । कोभिडलाई जितेका गायक तथा संगितकार दीप श्रेष्ठ सन् २०२१ लाई विदाई गर्न चितवन आउने भएका छन् । एलटीके हवेलीको आयोजनमा हुन लागेको संगीताञ्जली दीप श्रेष्ठ म्यूजिकल नाइटमा सहभागी हुन श्रेष्ठ चितवन आउने भएका हुन् ।

कोभिड संक्रमणले २३ दिन अस्पताल बसेर निको भएका श्रेष्ठले संगीताञ्जली कार्यक्रमलाई पुर्नजन्मको उत्सवको रुपमा लिएको बताएका छन् ।‘डाक्टरले बाँच्न गाह्रो छ भन्दा पनि बाँचेर आएको छु’, पत्रकार सम्मेलनमा उनले भने, ‘लगातार १८–२० गीतहरु गाउने चेष्टा गर्छु । नाच्ने नचाउने गीत त गाउँदिन, धेरै पुराना गीत गाउनेछु, अतित सम्झाउनेछु, अन्तिममा नचाउनेछु ।’

उनको कार्यक्रमको होष्टिङ नायिका गौरी मल्लले गर्नेछिन् । बेली डान्सर बिनु शाक्य, गायिका अञ्जना राईले पनि प्रस्तुती दिनेछन् । एकल साँझका रुपमा गीतहरु सुनाएर गायक दीप श्रेष्ठले सन् २०२१ लाई चितवनबाट विदाई गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गर्नेछन् ।

‘गीत गाउनुपर्छ भनेर धेरै सम्हालेर राखेको छु । मेरो बोल्दाबोल्दै भ्वाइस रोकिएको थियो’, उनले भने, ‘प्राटिक्समा बस्दा एकैपटक १२ वटा गीत गाउन सक्ने क्षमता बोकेर आएको छु, डिसेम्बर ३१ मा बीचमा ब्रेक नलिई १८–२० गीत गाउने चेष्टा गर्छु ।’

चितवनमा गायक दीप श्रेष्ठको पहिलो पटक ओपन सो हुन लागेको हो । ‘चितवनमा पहिलो पटक ओपन सो हुन लागेको हो, जाडो बेला न्यानो लिन आउने ठाउँ हो, उत्सुक छु’, उनले भने, ‘साथीभाई कति रमाउँछन् उत्सकु छु ।’ उनी आजकल पुराना गीतहरु रिमेकमा व्यस्त छन् ।

‘पुराना गीतलाई रि रकेर्ड गर्ने योजना छ । करिब २२ गीतको ट्रयाक बनाइसकेँ, अब गाउन मात्रै बाँकी छ’, उनले भने, ‘कोभिड निको भएपछि २ वटा नयाँ गीत गाइसकेको छु ।’उनले एल्बमहरु नबनाउँदा अर्काइभमा सुरक्षित गर्न गाह्रो हुने भएकाले बिक्रि नभएपनि एल्बम निकाल्न सुझाए ।

गायक तथा संगितकार श्रेष्ठ भ्वाइस अफ नेपालमा गीत गाउँदा गाउँदै घाँटीमा समस्या भएपछि उपचारमा गएका थिए । एलटीके हवेलीका सञ्चालक देभेन लोहनीले कार्यक्रम पुस १६ गते शुक्रबार राती ६ बजेदेखि सुरु हुने बताए ।

कार्यक्रम राती १२ बजेसम्म चल्नेछ । भरतपुर महानगरको वडा नम्बर ६ र १३ मा पर्ने देवनगर चम्पानगरमा रहेको लेक ट्वाण्टी थाउजेण्ड फार्म एण्ड रिट्रि (एलटीके हवेली) मा कार्यक्रम हुनेछ ।२ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ । करिब १ हजार ५ सय जना सहभागि हुने लोहनीले बताए ।

प्रतिक्रिया दिनुहोस