बढ्यो विद्युत माग, औसतमा करिब तीन सय मेगावाट वृद्धि

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, १२ : ३२
बढ्यो विद्युत माग, औसतमा करिब तीन सय मेगावाट वृद्धि

काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ । विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको बृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको बृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो ।

विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । उदाहरणका मंंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युतको पिक डिमाण्ड गतवर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत बृद्धि भएको छ । 

मंसिर २७ गतेको प्रणालीको पिक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहहरुबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरुबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाकोसहित आसपासको क्षेत्रमा विद्युत माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा बृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । 

ऊर्जाका मागका आधारमा आधारमा मंसिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो ।  उर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८।६५ प्रतिशत बढी हो ।