नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको छैन ।
जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न नसकेको हो । बुलिङटार गाउँपालिका–४ को अर्खलामा विद्युत् वितरणका संरचना तार, पोललगायत निर्माण भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विद्युत् वितरण हुन नसकेको वडाध्यक्ष मीनबहादुर आलेले बताए ।
उक्त वडाकै देउरालीका बासिन्दाले विद्युत् मिटर जडानका लागि शुल्क बुझाएको पनि लामो समय भइसकेको छ, तर बिजुली बाल्न नपाएको उनले बताए। विद्युत् प्राधिकरणले बोझा पोखरीमा विद्युत् सबस्टेसन सञ्चालन गरेको छ । तर उक्त सबस्टेसनबाट ७–८ किलोमिटर दूरीमा रहेका गाउँहरू अझै पनि अँध्यारोमा बस्न बाध्य छन् भने केही गाउँ लघु जलविद्युत्मा निर्भर रहनुपरेको अवस्था रहेको वडाध्यक्ष आलेले बताए ।
अर्खलामा लघु जलविद्युत्मार्फत बत्ती बालिए पनि आवश्यकताअनुसार विद्युत् उपभोग गर्न नसकिएको उनको गुनासो छ । ‘लघु जलविद्युत् छ, त्यो रातिमा मात्र चल्छ, दिनभरि केन्द्रको बिजुलीका तार र पोल हेरेर बस्नु बाहेक केही उपाय छैन’, अध्यक्ष आलेले भने, ‘हामीले ताकेता गरिरहेका छौँ, तर यी तारमा बिजुली कहिले आउने हो थाहा छैन ।’
बिजुली नहुँदा वडा कार्यालयबाट प्रदान गरिने सेवासमेत प्रभावित हुने गरेको उनको भनाइ छ । ‘वडा कार्यालयमा दिउँसोका लागि सोलार छ, तर घाम लागेन भने चल्दैन, हिजोआज धेरै सेवा प्रविधिसँग जोडिएको छ, सेवाग्राहीलाई त्यसै फर्काउनुपर्ने अवस्था हुन्छ, बिजुली आए यो समस्या हट्ने थियो’, वडाध्यक्ष आलेले भने ।
दिनको समयमा कसैको घरमा बिहे, पूजा आदि कार्यक्रम परेमा पहिले नै सूचना दिई लघु जलविद्युत् सञ्चालन गराउनुपर्ने अवस्था रहेको उनले बताए । उक्त लघु जलविद्युत्बाट सामान्य बत्ती बाल्ने काम मात्र गर्न सकिने र धेरै विद्युतीय उपकरण सञ्चालन गर्न नसकिने उनको भनाइ छ । लघु जलविद्युत् रातिको समयमा मात्र सञ्चालन हुने गरेको छ ।
विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख शिवनारायण गोशलीका अनुसार ठेकेदारको लापर्वाहीका कारण विद्युत् विस्तारमा ढिलाइ भएको हो । विद्युत् वितरणको पूर्वाधार निर्माणका लागि ठेक्का लागेको लामो समय भए पनि समयमा काम सम्पन्न नभएकाले ती क्षेत्रमा बिजुली वितरण गर्न नसकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ बैशाख २०८३, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो त्रैमासमै १ हजार ८०५ गिगावाट-आवर विद्युत भारत निर्यात
त्रिवेणी सिन्थेटिकद्वारा डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता भुक्तानी