पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : महत

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, १५ : १६
पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन ।

बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभएको बताए ।

देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाई छ ।

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् । देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे ।

नेता सतारले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु काँधमा काँध जोडेर सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस