एमसिसीको विरोधमा प्रदर्शन

पत्रपत्रिकाबाट

बुधबार, २९ मंसिर २०७८, ०७ : ५४
एमसिसीको विरोधमा प्रदर्शन

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गर्ने ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एमसिसीको विरोधमा संघीय संसद भवन अगाडि उत्रेका प्रदर्शनकारी र प्रहरी धकेलाधकेल समेत भएको थियो।

महानगरीय प्रहरी वृत बानेश्वरले संसद भवनअगाडि प्रदर्शन खोज्ने ७५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी,नेकपा माले लगायत दल तथा विभिन्न सामाजिक संस्थाको अगुवाइमा मंगलबार एमसिसी संसदबाट कुनै पनि हालतमा पास गर्नु हुँदैन भन्दै विरोध प्रदर्शन भएको हो।

विभिन्न राजनीतिक दलको अगुवाइमा दरबारमार्गस्थित एमसिए नेपालको कार्यालयमा सोमबार घेराउ पनि गरिएको थियो। सयौंको संख्यामा रहेका प्रदर्शनकारीले ‘एमसिसी चाहिँदैन,देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार’, ‘एमसिसी खारेज गर’ लगायत नारा लगाउनुको साथै कालो झण्डा प्रदर्शन गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ९समाजवादी०ले एमसिसी सम्झौताविरुद्ध संकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गर्दै संघर्षको चेतावनी दिएको छ। केन्द्रले मंगलबार  काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर २३ गतेदेखि २८ गतेसम्म देशव्यापी रूपमा एमसिसीविरुद्ध हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको हो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस