सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १२ : १४
सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्ने पनि बताइन् ।

उनले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा पुगेको बताइन् । मन्त्री भुसालले जनतामा २ वर्ष भित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा  सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।

उनले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताइन् । मन्त्री भुसालले उपभोक्ता महासंघले अब नयाँपन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत खपत गराउने र सबै उर्जामा विद्युतीय उर्जा उपयोग गर्ने अभियानका रुपमा रुपान्तरण गर्दै लैजानुपर्ने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा छौँ । अहिले एकातिर हामी आम जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ । जहाँ केन्द्रिय प्रशारण लाइन पुग्ने छैन, त्यहाँ सामुदायिक विद्युत उपभोक्ता महासंघमार्फत् त्यो अभियान पूरा गर्नेछौँ । अब फेरि हामी नयाँ ठाउँमा आएका छौँ । यो अधिवेशनले त्यो कुरालाई आफ्नो नीति कुरामा ध्यानमा राखोस् । अब हामी उर्जाका सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउनुपर्छ । यो उपभोक्ता महासंघको अब नयाँ पन र औचित्यता बढी भन्दा बढी विद्युत खपत गराउने र सबै उर्जामा विद्युतिय उर्जा उपयोग गर्ने अभियानका रुपमा यसले आफूलाई रुपान्तरण गरोस् ।’  

प्रतिक्रिया दिनुहोस