नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, ११ : ४२
नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेले बिहीबार दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार स्वाभिमान लघुवित्तको ३२ दशमलव ३० प्रतिशत र आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । बुधबार स्वाभिमान लघुवित्तको शेयरमूल्य २ हजार ५४० रुपैयाँ र आईसीएफसीको ७०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो । 

स्वाभिमान लघुवित्तको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले १९१९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ । लघुवित्तले गत वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न ८ पुसमा साधारणसभा बोलाएको छ । सभा दिउँसो १ बजेदेखि भर्चुअलमाध्यमबाट हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, आईसीएफसी फाइनान्सको बोनस सेयर समायोजनपछिको मूल्य ६३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ । फाइनान्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनसहित चार प्रतिशत नगद लाभांश वितरण गर्न ५ पुसमा साधारणसभा आह्वान गरेको छ । सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस