सौराहा आसपासका व्यवसायी निराश, आशाअनुरुपको व्यापार नभएको गुनासो

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १४ : १६
सौराहा आसपासका व्यवसायी निराश, आशाअनुरुपको व्यापार नभएको गुनासो

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरु बताए ।

महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरु अधिकांशले सौरहामा नै होटल बुकिङ गरेको र दिउँसोको समयमा अन्यत्र घुम्न जान नपाएकोले पनि अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यापारीहरुको बुझाइ छ ।

कोरोना संक्रमणको जोखिमले बन्द भएको होटल पर्यटनलाई महाधिवेशनले जीवन दिएको भन्दै चौतर्फी चर्चा भए पनि सौराहा आसपासलाई भने सकारात्मक प्रभाव पार्न सकेन । देशभरबाट प्रतिनिधिहरु आउने भएपछि व्यापार फस्टाउँछ भन्ने सोचे पनि त्यो अनुसार व्यापार नभएको साना व्यवसायीहरुको गुनासो छ ।

आयोजक पक्षले सौराहा र नारायणी किनारलाई मात्रै केन्द्रित नगरी विभिन्न चोकतिर पाहुनाहरुका लागि आकर्षक कुरा राखिदिएको भए साना व्यवसायीहरुको व्यापार फस्टाउने उनीहरुको भनाइ छ ।

साना व्यवसायीहरु समेट्न मानिस र सवारीसाधनको भीडलाई व्यवस्थित गरी अन्यत्र ठाउँमा सवारीसाधनको पार्किङको व्यवस्था गर्दै पैदल जाने व्यवस्था गर्न सकेको भए आफूहरुले पनि ब्याबसाय उकास्ने मौका पाउने आशा गरेको उनीहरुले बताए । कार्यक्रम ठूला होटल र रेष्टुरेण्टमा मात्रै केन्द्रित हुँदा देशभरका मानिसहरुले स्थानीय खानाको स्वाद लिन नपाएको पनि व्यवसायीहरुले बताए ।

व्यवसायीहरुले महाधिवेशनमा गएका पाहुनाहरुलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरे पनि अपेक्षाअनुसारको व्यापार नभएको बताउँछन् । महाधिवेशनस्थलमा आयोजकहरुले साना व्यवसायीहरुका लागि छुट्टै स्टलको व्यवस्था गरेको भए साना व्यवसायीहरु पनि लाभान्वित हुनसक्ने उनीहरुको दाबी छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन गत मंसिर १० देखि १४ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस