सहिद स्मारक ‘ए’ डिभिजन लिग : फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो

सफल खबर संवाददाता

शनिबार, १८ मंसिर २०७८, १५ : २५
सहिद स्मारक ‘ए’ डिभिजन लिग : फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो

काठमाडौं । फ्राङ्क्लिन कुइटे टल्लाले अन्तिम समयमा गरेको गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र क्लब संकटा क्लबले बराबरी गाेल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा टल्लाले गोल गरेपछि  मनाङ र स‌ंकटाले बराबरी २-२ गाेल गर्दै बराबरी खेल्दै अंक बाढेका हुन्को ।  

खेलको ३१औँ मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता बनाएको थियो । उनले लक्ष्मण रुचालको फ्रि किकलाई सदुपयोग गर्दै हेडमार्फत सेकेन्ड बारमा गोल गरे । ३४औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका लागि दयानन्द सिंहले गोल गरे । पुजन उपरकोटीको फ्रिकिकलाई बक्सभित्र फ्र्यान्कलिन कुइटे टल्लाले मिलाएको एयर बललाई भारतीय मिडफिल्डर सिंहले हेड गोल गरे । 

७०औँ मिनेटमा उत्तम राईले गरेको गोलबाट संकटाले २-१ को अग्रता बनायो । लेफ्ट विंगबाट फोडे फोफानाले दिएको क्रस बललाई बक्सभित्र रहेका भारतीय खेलाडी उत्तम राईले हेडमार्फत पोस्टको दिशा दिए ।

९० मिनेट पछिको इन्जुरी समयमा क्यामरुनका डिफेण्डर टल्लाको गोलसँगै मनाङले हार टारेको हो । बराबरसँगै तीन खेलबाट ५ अंक जोडेको संकटा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा अपराजित रहेको संकटा पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिदा दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि २-१ को जित दर्ता गरेको थियो । 

यता, मनाङको भने  तीन खेलबाट ७ अंक जोड्दै मनाङ दोस्रो स्थानमा छ । मनाङले पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा हिमालयन शेर्पालाई समान १-० ले पराजित गरेको थियो । आजै हुने दोस्रो खेल अपरान्ह ४ः४५ बजे च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस