भारत आइपुग्यो  नयाँ भेरियन्ट ओमिक्रोन, नेपालमा त्रास

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, १७ : ३६
भारत आइपुग्यो  नयाँ भेरियन्ट ओमिक्रोन, नेपालमा त्रास

काठमाडौँ । छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। इन्डियन एक्प्रेसका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ।
६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ।

यसअघि बुधबार संयुक्त राज्य अमेरिकामा उक्त भेरियन्टका संक्रमित भेटिएका थिए। अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।

ओमिक्रोन भेरियन्ट गत दिनअघि दक्षिण अफ्रिकामा फेला परेको हो। दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन्। युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिकसहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएका छन्।  

द इकोनोमिस्टका अनुसार ओमिक्रोन भेरियन्टले दुइटा त्रास सिर्जना गरेको छ। पहिलो, यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसको संक्रमणको गति कति हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ। सुरूमा भारतमा देखिएको डेल्टा भेरियन्ट त्यसअघिका अरू भेरियन्टभन्दा निकै संक्रामक थियो। देखिएको केही दिनमै यो संसारभरि फैलिएको थियो। अहिले भेटिने अधिकांश संक्रमितमा डेल्टा भेरियन्ट हुन्छ।

डेल्टाभन्दा ओमिक्रोन झन् संक्रामक भए यसले फेरि विश्वभरि एकैसाथ संक्रमण बढाउन सक्ने  देखिएको छ।  डेल्टा भेरियन्ट पत्ता लाग्दासम्म यो संसारभरि फैलिइसकेको थियो। ओमिक्रोन भने सुरूमै पत्ता लागेको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले विश्वास गरेका छन्।

दोस्रो, अहिले प्रयोगमा आइरहेका कोरोनाविरूद्धका भ्याक्सिनहरूले ओमिक्रोन भेरियन्टविरूद्ध प्रभावकारी ढंगले काम गर्न सक्दैनन् कि भन्ने डर छ। ओमिक्रोनविरूद्ध अहिलेका भ्याक्सिनहरूले कति काम गर्न सक्छन् भन्ने विस्तृत अध्ययन हुन बाँकी छ। भ्याक्सिन निर्माता कम्पनी फाइजर र बायोएन्डटेकले ६ साताभित्र नयाँ भेरियन्टविरूद्धको प्रभावकारी खोप बनाउन सक्ने र एक सयदिनभित्र पहिलोमात्र डेलिभरी गर्न सक्ने  बताएको छ।
त्रासका बीचमा अहिले विभिन्न मुलुकले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट हुने उडान बन्द गरेका छन्। अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका मुलुकले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अंगोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन्। भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको राम्ररी परीक्षण गर्न निर्देशन दिएको छ।
 

प्रतिक्रिया दिनुहोस