सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, १४ : २२
सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो । उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् । 

कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा छन् ?
    
न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ । उनको इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाङ्को मुद्दा परेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । जसमा बन्दीप्रत्यक्षीकरण, अंश, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाई पाऊँ, किचलो मेटाई हक कायम, अपुताली हक कायमजस्ता मुद्दाहरु परेका छन् । 

न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ । त्यसमा बन्दी र अन्य विविध खालका मुद्दाहरु रहेका छन् । न्यायाधीशहरु हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ । 

न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र डा.मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु अनिलकुमार सिन्ह र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ ।
 
न्यायाधीशहरु प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा  १९ थान मुद्दा, न्यायाधीशहरु तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ । 
    
त्यस्तै, एकल इजलासहरुमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । 
    
गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?
    
सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानूनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोलाप्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको छ । “गोलाप्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारले साप्ताहिक रुपमा पेसी तयार गरी शुक्रबार प्रकाशन गर्छन,” सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, “मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरु रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसै बमोजिम हुन्छ ।”

प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशहरुले गोला तान्छन । दुईवटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ । दुई न्यायाधीश त्यहाँ रहन्छन। बाँकी न्यायाधीशहरुको संयुक्त इजलासका लागि तय गरिन्छ ।

“जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ”–उनले थपे, “बिजोर गतेका दिन जुनिएर मध्येको सिनियर न्यायाधीशहरुले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ ।”

यो प्रक्रियामा थैलीमा मुद्दाका लागि क देखि क्रमशः मुद्दाअनुसार गोलाहरु राखिएको हुन्छ । संयुक्त इजलासका न्यायाधीशहरु एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ । 

श्रीलङ्का, युरोपेली मुलुकहरुमा अटोमेसन (स्वचालित) प्रणालीको प्रयोग भएको छ । नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ । अटोमेसन लागू नभएसम्मका लागि गोलाप्रक्रियबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस