एमाले महाधिवेशन : अन्य पदमा सर्वसम्मती भएपनि अध्यक्षमा निर्वाचन हुनसक्ने

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १० : ५८
एमाले महाधिवेशन : अन्य पदमा सर्वसम्मती भएपनि अध्यक्षमा निर्वाचन हुनसक्ने

चितवन । नेकपा (एमाले)को यहाँ जारी १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ। सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्ष नेताहरूबीच अनौपचारिक पहल भने जारी छ।

महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा गरिएको छ। बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

पार्टीका उपाध्यक्ष डा. भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्। एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रुपमा कोसिस भइरहेको जानकारी दिए। शनिबार बन्दसत्र सुरु नहुँदै प्रतिनिधि र कार्यकर्ताले सो स्थलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए।

केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन नभएमा पनि खुला र समावेशी क्षेत्रबाट प्रतिनिधित्व गराइने भएको छ। यसरी क्षेत्र निर्धारण गर्दा संवैधानिक र पार्टी विधानको व्यवस्थाबमोजिम ३३ प्रतिशत महिला र अन्य क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ। सहमति वा निर्वाचन जे भए पनि बन्दसत्र आज सकाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस