‘प्रेम गीत ३’ फागुन २३ गते प्रदर्शन हुने

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १२ : १५
‘प्रेम गीत ३’ फागुन २३ गते प्रदर्शन हुने

काठमाडौं । चर्चित एवं लोकप्रिय नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेम गीत ३’को प्रदर्शन मिति तय गरेको छ । चलचित्रका निर्माता सन्तोष सेनले बिहीबार सामाजिक सञ्जालमार्फत फागुन २३ गते प्रदर्शन मिति पक्का गरेका हुन् ।

कोरोना महामारीअघि नै प्रदर्शन मिति तय गरेको चलचित्र दुई वर्षपछि प्रदर्शन गर्न लागिएको हो । यसबीचमा निर्माता सेनले चलचित्रलाई हिन्दी भाषामा समेत डबिङ गराएका छन् । नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने निर्माण टीमको तयारी छ ।

निर्माण टीमले यसअघि चलचित्रको टिजर र गितहरु सार्वजनिक गरिसकेको छ । गीत र टिजरलाई दर्शकले मन पराएका छन् । निर्माता सेनले ट्रेलर केही दिनमा सार्वजनिक गर्ने बताउँदै प्रचारप्रसारका लागि दर्शकमाझ आउने बताएका छन् ।

चलचित्रमा प्रदीप खड्काको अलावा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत लगायतका कलाकारहरूको अभिनय छ । छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा बनेको चलचित्रलाई आशुसेन फिल्म्स प्रोडक्सनले निर्माण गरेको हो ।

आशुसेन फिल्म्सले यसअघि ‘चंखे, शंखे, पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ र ‘मेरी मामु’ चलचित्र निर्माण गरिसकेको छ । चलचित्रले काठमाडौंभित्रका लागि गोविन्द शाही र काठमाडौं उपत्यकाबाहिरका लागि ब्यानकेट्स इन्टरटेनमेन्टलाई वितरक तोकेको छ ।

प्रतिक्रिया दिनुहोस