‘हामी सुस्ताउदा, विभाजित हँदा प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोज्यो’ : प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, ०९ : ५४
‘हामी सुस्ताउदा, विभाजित हँदा प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोज्यो’ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी पार्टीका कार्यकर्ता, नेता सुस्ताउँदा, विभाजित हुँदा प्रतिक्रियावादी, प्रतिगमनकारीहरुले टाउको उठाउन खोजेको आरोप लगाएका छन् । 

पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनलाई विध्वशं पार्ने षडयन्त्र भएको बताउदैं त्यो गलत तत्वका विरुद्ध लडेर ठुलो सफलता हात पार्न सफल भएको बताए । उनले हामीबाट भएको कमीकमजोरी आत्मसमिक्षा गर्न जरुरी रहेको बताउदैं सबैले एकपटक आत्मसमिक्षा गर्ने हो भने माओवादी पार्टी फेरी एकपटक देशकै ठुलो पार्टी बन्नेमा कुनै दोधार नरहेको उल्लेख गरे । उनले भने–‘माओवादी अरु पार्टीसंग हिड्दै गर्दा आफ्नो जातै बिर्सेको हो  कि, भन्ने भ्रम अन्य पार्टीलाई परेकोले त्यो चिर्न जरुरी छ ।’

गएको केन्द्रिय कमिटि बैठकबाट अब पार्टीलाई देशकै ठुलो पार्टी बनाईछाड्ने संकल्प गरेको बताउदैं उनले यसबिचमा पार्टीमा देखापरेको निष्क्रियता, असन्तुष्टि अराजकता र गुटबन्दीलाई चिर्न जरुरी रहेको बताए । उनले अहिले देशैभरी सदस्यता नवीकरण र अधिवेशनबाट माओवादीको पक्षमा जनलहर आउन थालेको पनि आफुले पाएको उल्लेख गरे । 

प्रदेश २ मा महन्थ ठाकुर र  राजेन्द्र महतोमाथि विश्वास नरहेको बताउदैं उनले मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने थियो, तर त्यो होइन रहेछ, माओवादी प्रति ठुलो आश रहेको तराईको विभिन्न कार्यक्रममा सहभागी हुदा आफुले पाएको उनले बताए । 

पार्टी केही निश्क्रिय हुँदा कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले कसरी टाउको उठाउँदा रहेछन् भनेर हामीले भोगेको उल्लेख गर्दै उनले हामी कमजोर हुँदा क्रान्तिबाट प्राप्त उपलब्धि जतिबेला पनि उल्टिन सक्ने खतरा रहेको बताए ।  ‘हामीले पूर्ण संविधान मानेको त होइन, त्यसको संशोधन गरिनुपर्छ भनेका छौँ’, उनले भने–तै पनि जनताको संघर्षको बलकनठ स्थापित यो संविधानले जनतालाई नै सार्वभौम बनाएको र समाजवादबाट चल्ने परिकल्पना गरेकाले यो संविधान उत्कृष्ट छ ।’

उनले यो संविधानको रक्षा गर्दै र परिमार्जन गर्दै समाजवादतिर अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व रहको पनि उल्लेख गरे ।  माओवादीले आँधी हुरी ल्याइदियो भनेर मात्रै गणतन्त्र स्वीकारेको भन्नेहरु एमालेमा रहेको उल्लेख गर्दै उनले त्यही भएर उनीहरु आफ्नो असली चरित्र देखाउन लागिपरेको बताए । त्यसको उदाहरण े उनीहरुले गतवर्ष गरेको सेटिङ, संविधान च्यात्न गरेको प्रयास नै काफी रहेको बताए ।

उनले माओवादी कमजोर हुँदा अहिलेको परिवर्तन उल्टिने खतरा रहेकाले पनि पार्टीलाई एकढिक्का बनाएर जानुपर्नेमा जोड दिए । उनले अन्य पार्र्टीसंग बृहत्तर राजनितिक स्थायित्व, सामाजिक न्याय र एकतामा जोड दिदा आफ्नै पार्टीको विचार र संगठनमा जोड दिन नसकेको कमीकमजोरी औल्याउदैं पद, प्रतिष्ठाका पछि लाग्दा प्रतिक्रान्तिकारीहरुले आफ्नो सक्कल चरित्र देखाउन थालेको बताए । कार्यक्रममा एमाले, काँग्रेस, राप्रपाबाट ठुलो संख्यामा सहभागी नेता, कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराए ।

प्रतिक्रिया दिनुहोस