युरोपमा फेरि कोरोना संक्रमण बढ्दै

एजेन्सी

आइतबार, ०५ मंसिर २०७८, ०९ : ३६
युरोपमा फेरि कोरोना संक्रमण बढ्दै

एजेन्सी । युरोपेली देशहरूमा बढ्दो कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ।

साथै संक्रमण रोक्नका लागि तत्काल प्रभावकारी कदम नचालिएमा कोरोना भाइरसका कारण आउँदो मार्चसम्ममा थप पाँच लाख मानिसको ज्यान जानसक्ने चेतावनी समेत डब्लुएचओले दिएको छ।

हाल जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोना सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छ। यससँगै त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपाय र लकडाउन अपनाउनुका साथै खोप अभियानलाई तीव्रता दिन थालिएको छ।

कोरोना बढेपछि अस्ट्रियाले सोमबारदेखि देशैभरि पूर्ण लकडाउनको घोषणा गरेको छ। यो लकडाउन २० दिनसम्म रहन सक्ने बताइएको छ। त्यहाँ आगामी वर्ष सन् २०२२ फेब्रुअरी १ देखि सबै नागरिकले कोरोना विरुद्धको खोपलाई अनिवार्य लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ।

जाडो याम बढ्न, खोप अभियान तीव्र नहुनु तथा तीव्र गतिमा संक्रमण फैलिने डेल्टा भेरियन्ट देखिनुले अहिले युरोपमा संक्रमण बढ्दै गएको डब्लुएचओको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस