हिमालयन शेर्पा क्लब लक्ष्यविहीन

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, १४ : २४
हिमालयन शेर्पा क्लब लक्ष्यविहीन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले हाँकेको क्लब हो, हिमालयन शेर्पा क्लब । शीर्ष डिभिजनको लिग शुक्रबारबाट सुरू हुनै लाग्दा शेर्पाले समेत आफ्नो तयारी लगभग पूरा गरेको छ ।

उस क्लबले लिगअघि केही मैत्रीपूर्ण खेल र त्यसअघि मोफसलको बेलबारी गोल्डकप पनि खेल्यो । उपाधि पनि जित्यो । त्यसपछि शेर्पाले अन्तिम खेलाडी जम्मा पारेर काठमाडौं केन्द्रित लिगको तयारी पूरा गरेको छ ।

युवा प्रशिक्षक युगल किशोर राईको प्रशिक्षणमा रहेको शेर्पाले युवा स्ट्राइकर विश्वास श्रेष्ठलाई टोलीको कप्तानी सुम्पिएको छ । यसअघि करिब एक दशक क्लबमै रहेका मानबहादुर तामाङ सातदोबाटो लागेपछि टोलीको कप्तानी एन्फा एकेडेमी उत्पादक श्रेष्ठले पाएका हुन् । 

२०६३ सालमा स्थापना भएको हिमालयन शेर्पा क्लब पहिलो पटक २०६८ सालमा ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता क्लबले निरन्तर ए डिभिजन लिग खेल्दै आएको छ । तर, टोलीको प्रदर्शन र लिगको नतिजा भने सन्तोषजनक छैन । टोलीले हालसम्म लिग उपाधि हात पार्न सकेको छैन । यतिमात्र हैन टोली ‘सुपर सिक्स’मा समेत कमै रहँदै आएको छ । 

२०६८ सालमा शीर्ष डिभिजनमा बढुवा भएसँगै राष्ट्रिय लिगलाई छनोट भएको टोलीले पोखरा र बुटवलमा सम्पन्न राष्ट्रिय लिगमा सनसनीपूर्ण प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको थियो । त्यो नै हो क्लबले हालसम्म पाएको सबैभन्दा ठूलो उपलब्धि । त्यसयता क्लबले निरन्तर रेलिगेसन जोनबाट मात्र जोगिने योजना ल्याएको छ । अर्थात त्यहाँबाट माथि जान सकेको छैन । 

यस पटकसमेत टोलीले त्यस्तो ठूलो कुनै योजना ल्याएको छैन । ठूला भनिएका र स्टार खेलाडीमा खासै लगानी नगरेको शेर्पाले पुनः एक पटक युवा खेलाडी र चार विदेशी खेलाडीको भरमा शीर्ष डिभिजन लिगमा बच्ने योजना बनाएको  छ ।

क्लबका मुख्य प्रशिक्षक युगल लिगको लागि थोरै समय भएको र त्यसका बाबजुद पनि टोली लयमा आएको बताउँछन् । ‘हामीले ३० दिन मात्र अभ्यास गरेका छौं । यतिको समयमा हामीलाई खेल्न निकै गाह्रो हुन्छ । हामीसँग धेरै प्रतियोगिता नहुँदा खेलाडीले पनि घरमै समय बिताउन पर्‍याे । एउटा राम्रो पक्ष भनेको बेलबारीमा हामीले राम्रो तयारी गर्न पायाैँ। टिम एउटा लयमा आएको छ', युगलले भने । 

खेलाडी जीवनमा नेपाल पुलिस, न्युरोड टिम एनआरटी लगायत क्लबबाट ए डिभिजन लिग खेलेका युगललले युवा खेलाडीमा ‘प्यासन’ भएको र खेलाडीले ‘सिष्टम’लाई कार्यान्वयन गरे राम्रो पोजिसन आउनेमा आफू विश्वस्त भएको बताउँछन् । 

‘फिटनेशमा खेलाडीले राम्रो गरे राम्रो हुन्छ । म्यानेजमेन्ट टिमबाट पनि सहयोग भए हामीले राम्रो गर्छौं । मैले टोलीलाई कहाँसम्म पुर्‍याउँछु भन्दा पनि यो मेरो युवा खेलाडी र युवा टोली छ । खेलाडीमा ‘प्यासन’ छ । सिष्टम छ । सिष्टमलाई फलो गरेको खण्डमा राम्रो हुन्छ । हाम्रो मुख्य ध्यान भनेकै ‘सिष्टम’ हो ।  म कर्मयोगी हो । मेहनत गर्छौ‌ं, सुरुमै यही भन्न सक्दैनौँ । एक दुईवटा खेल हेरेपछि एउटा पोजिसन आउँछ’, नेपाल राष्ट्रिय टोलीबाट समेत अट्याकरको भूमिका निर्वाह गरेको उनी भन्छन् । उनी टोलीले अहिले नै यही पोजिसन भन्न नसक्ने र केही खेलपछि मात्र टोली कहाँ पुग्छ र कहाँसम्म पुर्‍याउने सकिने त्यसपछिमात्र बताउन सकिने बताउँछन् । 

गत सिजन मछिन्द्र पहिलो पटक लिगको उपाधि जित्दा हिमालयन शेर्पा क्लबले १० औं स्थानमा टुंगाएको थियो । १३ खेल खेलेको शेर्पाले तीन जित, पाँच बराबर र पाँच हार सहित १४ अंक जोडेको थियो । 

त्यसअघि भएको २०७५ सालको बिना रेलिगेसनको लिगमा शेर्पा ७ औं स्थानमा रहेको  थियो । १३ खेल खेल्दा पाँच जित, दुई बराबर र छ खेलमा हार व्यहोरेको शेर्पाले १७ अंक बटुलेको थियो ।

गत सिजन भने क्लबले आफ्ना भरपर्दा स्ट्राइकर विश्वास श्रेष्ठलाई सुरूवाती केही खेलमै चोटका कारण गुमाएको थियो । करिब एक वर्षपछि जेठमा मैदान फर्किएका विश्वासले यस पटक टोलीको कप्तानी गर्नेछन् । 

कप्तान विश्वास भने टोलीमा खेलाडीको तालमेल राम्रो भएको र सबै खेलाडी युवासहित मिहेनती भएको कारण राम्रो नतिजा आउनेमा विश्वस्त छन् । ‘टोलीको तयारी लामो त हुन पाएन । तर बेलबारी गोल्डकप जितेपछि खेलाडीमा मनोबल बढेको छ । सोही प्रतियोगिताले गर्दा हाम्रो तालमेल पनि राम्रो छ । सबै युवा खेलाडी छौं । मेहेनती पनि छौं । यस पटक राम्रो गर्छौं’, पहिलो पटक ए डिभिजन लिगमा टोली कप्तानी गर्न लागेका स्याङ्जा वालिङ निवाशी श्रेष्ठ भन्छन् । 

यस्तै श्रेष्ठ विदेशी खेलाडीसमेत राम्रा र अनुभवी भएकाले पनि टोलीको प्रदर्शनमा धेरै फरक पार्ने र टोलीले शीर्ष ६ का लागि प्रतिस्पर्धा गर्ने बताउँछन् । ‘हामीसँग यसअघि खेलेका दुई र एक जापानी खेलाडीसहित भारतीय खेलाडी छन् । सबै राम्रो हुनुहुन्छ । साथै नेपालको राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीसमेत छन् । त्यसैले यो पटक ‘टप सिक्स’ भित्र पर्ने गरी खेल्छौं’,  एन्फा एकेडेमीका उत्पादक २४ वर्षीय विश्वास श्रेष्ठ भन्छन् । 

यस पटक शेर्पाका राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्की, त्रिदेभ गुरुङ, कमल थापा छन् । दीप यस पटक मनाङ मर्स्याङ्दी हुँदै शेर्पा आइपुगेका हुन् । यस पटक टोलीको विदेशी खेलाडीमा जापानी खेलाडी रियो नाकामुरा, भारतीय यू-१९ टोलीका पूर्व खेलाडी मोईनुदिन खानसहित उर्लिच सिवेलाई अनुबन्धन गरेको छ ।   

२०६८ सालको पहिलो लिगमा पाँचौं स्थान हासिल गरेको टोली अन्य संस्करणमा मध्यपंक्तिमा रहेर लिग अन्त्य गर्नमै रमाउँदै आएको छ । एन्फा अध्यक्ष शेर्पाको क्लब भएकाले राम्रो टिम बनाएर सुधारिएको प्रदर्शन गर्नु हिमालयन शेर्पाका लागि चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस