अदालत नै कुशासनको केन्द्र भएपछि राज्य व्यवस्थाप्रति जनताको वितृष्णा बढ्यो : मातृका यादव

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, ११ : ३३
अदालत नै कुशासनको केन्द्र भएपछि राज्य व्यवस्थाप्रति जनताको वितृष्णा बढ्यो : मातृका यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् जनता सबैभन्दा सर्वश्रेष्ठ न्यायकर्ता हुन् । हामी सबै अग्निपरीक्षामा छौं । त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु सबभन्दा न्यायसंगत हुन्छ ।’

न्यायपालिकाको सर्वोच्च अंग सर्वोच्च अदालत नै कुशासनको केन्द्र भएपछि राज्य व्यवस्थाप्रति नै जनताको वितृष्णा जाग्न सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै उनले न्यायपालिकाले सही भूमिका निर्वाह नगर्दा समस्या देखिनु स्वाभाविक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘अतः स्वतन्त्र, निष्पक्ष, सक्षम र सुशासन सहितको न्यायपालिकाको विषय नेपाल बार एशोसिएशन र न्यायपालिकाको आन्तरिक झगडा नठानेर वर्तमान उपलब्धिको रक्षार्थ सबै अग्रगमनकारी शक्तिलाई एकजुट भएर समस्या हल गर्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस