सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

पत्रपत्रिकाबाट

आइतबार, २८ कार्तिक २०७८, ०८ : ००
सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

काठमाडौँ । सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ।

सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले अघिल्लो महिना संसद्बाट फिर्ता लिएको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक केही बुँदा संशोधनसहित अध्यादेशबाट जारी गर्ने तयारी गरेको छ।

संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले संसद्को हिउँदे अधिवेशनअघि नै संघीय निजामती सेवा ऐनलाई अध्यादेशबाट ल्याउने तयारी भएको बताए। त्यसका लागि आन्तरिक गृहकार्य भइरहेको उनको भनाइ छ।

‘संसद्बाट फिर्ता लिइएको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकमा केही परिमार्जन हुन्छ’, उनले भने, ‘त्यसैका लागि संसद्बाट विधेयक फिर्ता लिइएको हो।’

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हाल शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुन १०/१२ वर्षसम्म लाग्छ। १०/१२ वर्षसम्म एउटै पदमा रहँदा कर्मचारीको मनोबल उठ्न नसक्ने तथा अन्य प्राविधिक कठिनाइ उत्पन्न हुने भएकाले शाखा अधिकृतबाट ६/७ वर्षमै बढुवा हुनेगरी सहायक सचिव पद थप गर्ने तयारी भएको हो। नागरिक दैनिक मा खबर छ ।

प्रतिक्रिया दिनुहोस