आइपिएल : पन्जाबमाथि हैदरवादको जित, पन्जाब तेस्रो स्थानमा झर्यो

शुक्रबार, १४ बैशाख २०७५, ०८ : ३१
आइपिएल : पन्जाबमाथि हैदरवादको जित, पन्जाब तेस्रो स्थानमा झर्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा हैदरवादले पन्जाबलाई १३ रनले हराएको हो । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा चेन्नई सुपर किङ्स र ७ खेलमा पञ्जाबको पनि समान १० अंक छ । चेन्नई शीर्ष र पञ्जाब तेस्रो स्थानमा छ ।

१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए । करुन नायरले १३ र मयंक अग्रवालले १२ रन बनाएका थिए । हैदाराबादका लागि रसिद खानले ३ , सकिब, सन्दीप शर्मा र बसिल थम्पीले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले मनीष पाण्डेको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । मनीषले ५४ रनको योगदान गरे । सकिब अल हसनले २८, युसुफ पठानले अविजित २१ र शिखर धवनले ११ रन बनाएका थिए । मनीषले ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए । सकिबले ३९ बलमा ३ चौका प्रहार गरे ।

त्यस्तै १९ बल खेलेका युसुफले १ चौका र १ छक्का प्रहार गरे । पञ्जाबका लागि अंकित राजपुलले ५ विकेट लिए । ४ ओभरमा उनले १४ रन खर्चेका थिए । मुजिब उर रहमानले १ विकेट लिए । आइपिएलमा शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले खराब प्रदर्शन गरिरहेको छ ।
६ खेलमा १ खेलमा जित र बाँकी सबै खेल गुमाएको दिल्ली २ अंकसहित पुछारमा छ । सन्दीपले पछिल्ला ६ खेलमा खेल्न अवसर पाएका छैनन् । कोलकाता ६ खेलमा ३ जितका साथ चौथो स्थानमा रहेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस