बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख राहत

रासस

बुधबार, १७ कार्तिक २०७८, ०८ : १४
बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख राहत

डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका छन् । 

बाढीपहिरामा ज्यान गुमाएकालाई प्रतिपरिवार रु दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताए ।

सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई रु दुई दुई लाख तथा वडा नं ६ अम्ततोडाका आशिष कुञ्जेडा र सागर कुञ्जेडाका बुवा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख हस्तान्तरण गरिएको छ । 

यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ । यस्तै शिखर नगरपालिका–११ मा बाढीपहिरामा परी मृत्यु भएकी मन्धरी वलायरका आफन्त, वोगटान गाउँपालिका–५ का मृतक चनरी नेपालीका श्रीमान् इन्द्र नेपालीलाई समेत राहत रकमको चेक हस्तान्तरण गरिएको छ ।

जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । अहिलेसम्म कम्तीमा  रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस