१४ शर्तसहित छुटे आर्यन, त्रासमा बलिउड

एजेन्सी

शनिबार, १३ कार्तिक २०७८, १२ : ४०
१४ शर्तसहित छुटे आर्यन, त्रासमा बलिउड

काठमाडौं । अन्ततः शाहरुख खानका छोरा आर्यन खान जेलबाट छुटेका छन् । गत २ अक्टोबरमा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरेको थियो । 

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनको दुईपटक जमानत रद्द गरिएको थियो । यद्यपि उनलाई सशर्त हार्ई कोर्टले रिहा गर्ने आदेश दिएको छ । मुम्बईस्थित आर्थर रोड जेलमा रहेका आर्यनलाई लिन उनका पिता शाहरुख नै पुगेका थिए । 

आर्यनलाई १४ सर्तसहित रिहा

१. एक लाख बराबर जमानतको लागि बोन्ड ।
२. सम्पूर्ण रिहा गरिएको निवेदक वा आरोपी फेरि त्यस्तै प्रकृतिको आरोपमा पक्राउ पर्न नहुने ।
३. निवेदक वा आरोपीले एक आपसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी गर्न नपाउने । यस मुद्दालाई लिएर साथीभाइसँग पनि कुराकानी गर्न नपाइने ।
४. कोर्टमा चलिरहेको मुद्दामा कुनै पनि प्रकारको कारबाही गरिने छैन । त्यसमा निवेदक वा आरोपीले अन्य प्रावधानमार्फत कुनै कारबाही गर्न पाउने छैन ।
५. निवेदक वा आरोपी कसैले पनि विट्नेस वा प्रमाणसँग कुनै प्रकारको छेडछाड वा सम्बन्ध स्थापित गर्न पाउने छैनन् ।
६. स्पेसल कोर्टमा सम्पूर्ण निवेदक वा आरोपीले आफ्नो राहदानी जम्मा गराउनुपर्ने छ । उनीहरू देश छाडेर कतै जान पाउने छैनन् ।
७. निवेदक वा आरोपीले यस विषयमा सोसल मिडिया, मिडियालगायत कुनै पनि प्लेटफर्ममा कुराकानी गर्न पाउने छैनन् ।
८. निवेदक वा आरोपीले विदेश यात्रा गर्नु परेमा एनडिपी कोर्टका न्यायाधीशसँग स्वीकृति लिएर मात्र यात्रा गर्न पाउने छ ।
९. निवेदक वा आरोपीले मुम्बई बाहिर जानुपरेमा केस जाँच गरिरहेका अफिसरलाई सम्पूर्ण डिटेल जानकारी गराएर स्वीकृति पाएमा मात्र यात्रा गर्न पाउने छन् ।
१०. हरेक हप्ताको शुक्रबार निवेदक वा आरोपीले एनसीबी मुम्बईमा आएर आफ्नो हाजिरी दिनुपर्ने छ । 

११. आरोपी वा निवेदकले कोर्टमा पाउने तारिखमा अनिवार्य उपस्थिति जनाउनुपर्ने छ ।

१२. एनसीबीले जाँचका लागि बोलाएको समयमा अनिवार्य रूपमा निवेदक वा आरोपी उपस्थित हुनै पर्नेछ ।

१३. यस मुद्दामा हुनु सुनुवाइलाई कुनै पनि बहानामा आरोपी वा निवेदकले सार्न पाउने छैनन् ।

१४. आरोपी वा निवेदकले माथि उल्लेखित कुनै पनि बुँदालाई उल्लंघन गरेमामा एनसीबीले न्यायाधीशसमक्ष रिहाइ रद्दको लागि आग्रह गर्न सक्ने छन् ।

त्रासमा बलिउड

आर्यनलाई एनसीबीले पक्राउ गरेपछि ह्वाटएप्समा बलिउड अभिनेत्री अनन्या पाण्डेसँग भएको कुराकानीका आधारमा एनसीबीले घरमा छापा मारेर ल्यापटप र मोबाइल सिज गरेर बयानसमेत लिएको थियो । गत वर्ष कोरोनाभाइरसको महामारी केही समान्य हुँदै गर्दा बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएर अगाडि आएको ड्रग्स केसमा केही बलिउड सेलिब्रेटीलाई एनसीबीले बयानका लागि बोलाएको थियो । दीपिका पादुकोण, सारा अलि खानलगायत बलिउडका चिनिएका अनुहारलाई एनसीबीले बोलाएर सोधपुछ गरेको थियो ।

केही समयअगाडि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियासमेत ड्रग्स केसमा परेका थिए । उनीहरूले आफूले ड्रग्स सेवन गर्ने गरेको बयानका क्रममा स्वीकारसमेत गरेका थिए । यद्यपि, उनीहरूलाई पनि कारबाही भएन । तर, पछिल्लो समय ड्रग्स केसमा जोडिएका आर्यनलाई एनसीबीले गरिरहेको कारबाहीले बलिउडमा त्रास फैलिएको छ । स्टारका छोराछोरी वा स्टार धेरै पार्टीमा पुग्ने गरेका छन् । उनीहरू पुगेको पार्टीमा कसैले ड्रग्स सेवन गरे, आफू पनि त ‘जेल’ पुग्नुपर्ने होइन ? भन्ने डर उनीहरूमा छ ।

केही बलिउडकर्मीले एनसीबीले बलिउडलाई टार्गेट गरिरहेको आरोपसमेत लगाएका छन् । पछिल्लो समय एनसीबीले बलिउडलाई टार्गेट गरेपछि बलिउडकर्मीहरूमा त्रास बढेको हो । बलिउडमा ड्रग्स कनेक्सनको खोजमा रहेको एनसीबीले लगातार आफ्नो कारवाही अगाडि बढाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस