भक्तपुरमा चाइनिज हाईव्रीड धानमा दाना लागेन ठगिए किसान

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १३ : ११
भक्तपुरमा चाइनिज हाईव्रीड धानमा दाना लागेन ठगिए किसान

काठमाडौं । विगतका वर्षमा धेरै फलेको भन्दै चाईनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शुन्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाईव्रीड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।

गतसाता देशभर बाढी–पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव हुने देखिएको छ ।

भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीविका नै अफ्ठ्यारोमा पर्ने देखिन्छ ।

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक नगरपालिकामा अधिकांस किसानले डीवाई २८ धान लगाएको पाईएको छ । चाइनिज धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका किसान विजय लामा र सावित्री श्रेष्ठले ७ रोपनी खेतमा लगाएको धानमा बाला नलागेको गुनासो गरे । उनीहरुले बढी फल्ने धान लगाउन पाए हात मुख जोड्न सजिलो हुन्छ भनेर ७ रोपनीमा लगाएको डी वार्ई २८ गेडा नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको भन्दै दुखेसो पोखे ।

चाईनिज धानको बिउमा स्थानीय रुपमा उत्पादन भएको धान अघिल्लो वर्षको डीवाई २८ मिसाएर व्यापारिहरुले बिक्री गरेको हुनसक्ने कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखेले बताए । उनले भने, ‘एउटै गरोमा रोपेको केहि धान फलेका अधिकांशमा बालामा चामल नै नपसेको भुस मात्र फलेको देख्दा उताबाट ल्याएको धानको बिउमा यहाँ अघिल्लो वर्ष फलेको धानको बिउ मिसाएर बिक्री गरेको स्पस्ट देखिन्छ ।’

यस्तै, नगरकोट क्षेत्रका ७० प्रतिशत किसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरी भन्दा बढी धान नआउने किसानहरुले बताएका छन् । धानको बिउ किलोको ८५० भन्दा बढी पर्ने भएकाले विचौलियाले व्यापारिको मिलेमतोमा धानको बिउमा मिसावट गरेको किसानहरुले आरोप लगाएका छन् ।

किसानहरुले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् । धानको बाला नलागेको बोटको जरा सेतो छ बाला लागेको धानको जरा र काण्ड रातो छ यसरी हेर्दा बिउ आयात गर्ने कम्पनीहरुको लापरवाहीले सोझा किसान ठगिएको स्पष्ट हुन्छ । केही वर्ष अगाडी पूरै भक्तपुरमा लगाएको डीवाई ६९ धानमा पनि यसरी नै भुस मात्र लागेको थियो ।

प्रतिक्रिया दिनुहोस