गठबन्धनले बाग्मती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँदै

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १४ : ५०
गठबन्धनले बाग्मती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँदै

हेटौँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् । 

विश्वासको मत लिनका लागि बुधबार बसेको प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयोग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरिन् । उनले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा गरेकी हुन् । आफ्नो पार्टीको बैठकको निर्णयअनुसार आफूले नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको बताइन् । 

एमालेको एकल बहुमतका आधारमा शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद नेकपा ९एकीकृत समाजवादी०मा लागेपछि अल्पमतमा परेकी हुन् । अहिले एमालेका ४३ जना मात्र सांसदको साथ रहेकाले उनले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएकी हुन् । 

बैठकमा शाक्यले मार्गप्रशस्त गरेसंगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । 

बाग्मतीमा गठबन्धमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विश्वासको मत नदिने बताएपछि शाक्य अप्ठ्यारोमा पर्दै आएकी थिइन् । गठबन्धनले उनलाई विश्वासको मतभन्दा पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नका लागि आग्रह गर्दै आएको थियो ।

बाग्मती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्यहरू रहेकोमा सरकार गठनको लागि ५५ सांसदको समर्थन आवश्यक पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अहिले एमालेका ४३ जना मात्र सांसद छन् ।

यस्तै नेकपा माओवादीका २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझा पार्टीको तीन जना, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई जना, राप्रपाका दुई जना र जनता समाजवादी पार्टी (जसपा) को एक जना प्रदेशसभा सदस्य छन् । 
सरकार बनाउनका लागि आवश्यक मत सहित तयार रहेको गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने भएको छ । केन्द्रिय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नेसमेत यसअघि नै सहमति भइसकेको छ । समाजवादीका नेता पाण्डेपछि कांग्रेसका नेता ईन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमति यी दुई दलबीच भएको छ ।

प्रतिक्रिया दिनुहोस