स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुल्यो, कसरी भर्ने ?

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १२ : १४
स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुल्यो, कसरी भर्ने ?

काठमाडौं । स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलेको छ । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ आवेदन खुलाएको हो ।

सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने विभागले जनाएको छ । सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्नेछन् । 

यातायात व्यवस्था विभागको वेबसाइटमा गएर आवेदन दिन सकिनेछ । पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गरेर अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने, त्यसपछि नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने। अन्त्यमा आफूलाई सहज हुने स्थानलाई छनोट गरेर सबमिट गर्नुपर्छ । 

र, विभागले तोकेको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जानुपर्दछ । 

नयाँ निर्देशिकामा के छ ?
अब नयाँ आवेदकहरुले अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । नयाँ निर्देशिकामा लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस