सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता

रासस

आइतबार, ०७ कार्तिक २०७८, १९ : २३
सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता

काठमाडौं । बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी  आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो ।

बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता रहेका छन् । बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एक÷एक बेपत्ता रहेका हुन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरा र बैतडीमा दुई/दुई र बझाङ र बाजुरामा एक/एक जना घाइते भएका हुन् । 

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ । बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।

वर्षाका कारण डडेल्धुरामा केआइसिंह राजमार्ग, दार्चुलामा महाकाली राजमार्ग, बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बन्द भएको टेलिफोन र इन्टरनेट सेवा भने सुचारु भइसकेको छ ।  

प्रतिक्रिया दिनुहोस