एएफसी यु–२३ एसियन कप छनोटः 'नेपालले इन्डोनेसियासँग खेल्दै'

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १० : ३८
एएफसी यु–२३ एसियन कप छनोटः 'नेपालले इन्डोनेसियासँग खेल्दै'

फाइल फोटो

काठमाडौं । ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरुले बाँकी यु–२३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन् । एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।

छनोटका ११ समूहको शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदै छ । 
 

प्रतिक्रिया दिनुहोस