प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षतिबारे स्थलगत अवलोकनमा, उचित राहत र क्षतिपूर्ति दिने बचन

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १३ : २९
प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षतिबारे स्थलगत अवलोकनमा, उचित राहत र क्षतिपूर्ति दिने बचन

डोटी । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा हालै गएको बाढी पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत अवलोकन गरेका छन । यसक्रममा बिहीबार सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्केका  उनले दिपायलमा त्यस क्षेत्रमा बाढी पहिरोले गरेको क्षतिबारे अधिकारीहरुसँग जानकारी लिएका छन ।

मनसुन सकिएपछि बंगालको खाडीमा विकसित आँधीका कारण आएको ठूलो वर्षाले देशैभर बाढी, पहिरो र डुबानको अवस्था सृजना गरेको थियो । जसबाट करिब एक सय व्यक्तिको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति वेपत्ता भएका छन् । हजारौं हेक्टर क्षेत्रमा लगाएको धानबाली पूर्ण रुपमा नष्ट हुँदा देशभरका लाखौं किसान मारमा परेका छन् भने अर्थतन्त्रमा ठूलो नोक्सानी परेको छ ।

यसअघि, सुर्खेतमा प्रधानमन्त्री देउवाले पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिने बचन दिएका थिए । बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बिहीबार बिहान सुर्खेत पुग्दा देउवाले क्षतिको अनुगमन भइरहेको र सबै तथ्यांक संकलन भएपछि राहत दिने बचन दिएका हुन ।

प्रधानमन्त्री देउवालाई कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुले प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी गराएका थिए

प्रधानमन्त्री देउवाका साथमा मन्त्री र पूर्वमन्त्रीहरू पनि रहेका छन  । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन ।

डोटीमा बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणपछि टोली बझाङ, बैतडीको ढुंगाडहुँदै प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी र जोगबुढा नगरपालिका हुँदै कञ्चनपुर पुग्ने कार्यक्रम छ ।

विहीबार राति भने प्रधानमन्त्रीको टोली धनगढीमा बस्ने कार्यक्रम छ । कैलालीमा भने शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस