भित्रयाउने बेला वर्षाले बिगार्यो धान

पत्रपत्रिकाबाट

मंगलबार, ०२ कार्तिक २०७८, ०७ : ४५
भित्रयाउने बेला वर्षाले बिगार्यो धान

काठमाडौं । किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले खेतमै नष्ट पारेको छ। काटेर सुकाएको पाकेको बाली झरीले बिगारेको हो। जबकि खलियानमा राख्नसम्म पनि पाएनन्। भोलि बिहान भित्र्याउन भनेर अघिल्लो दिन दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको किसान मोहम्मद अबरार खानले सुनाए।

‘हाम्रो क्षेत्रमा ५० प्रतिशतभन्दा बढी धान बालीमा क्षति पुगेको छ’, रुपन्देहीको रोहिणी गाउँपालिकाका खानले भने, ‘कसैले काटेर खेतमा सुकाएको धान बाली डुबेको छ। कसैको वर्षाले पूरै बाली ढलेको छ।’ उनका अनुसार जमिन सुक्न नपाएका कारण किसानहरू ठूलो कम्पाइन मेसिन लगाएर बाली काट्ने प्रतीक्षा गरिरहेका थिए। उक्त बालीसमेत वर्षाका कारण ढलेर डुबेको उनले सुनाए।

रुपन्देहीकै मर्चबारी गाउँपालिकाका सतनारायण कुर्मीले आठ–दस वर्षपछि धान धेरै फले पनि वर्षाले डुबाएको बताए। भने, ‘तत्कालै वर्षा रोकिएर कडा घाम लागे केही जोगिएला, नभए पुरै धान खेतमै कुहिन्छ।’

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको बागबानी विकास अधिकृत सुनेना बरालीले काटेर खेतमा राखेको धान डुब्नुका साथै पाकेका बाली ढलेर क्षति पुगेको बताइन्। भनिन्, ‘स्थानीय तहहरूबाट क्षतिको विवरण संकलन भइरहेकाले हालसम्म यकिन भएको छैन।’ यहाँका किसानले दसैंअघि धान काट्न सुरु गरेका थिए। रुपन्देहीमा करिब ६९ हजार हेक्टरमा धान खेती हुन्छ।

बर्दियाको गुलरिया नगरपालिका–१० मुक्तिनारायण टोलकी सुवरानी थारूले ठेक्का लिएको जमिनमा मजदुर लगाएर रोपाइँ गरेकी थिइन्। भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि उनी चिन्तित छिन्। ‘धान स्याहारेर साहुको ठेक्काको रकम बुझाउँछु, वर्षभरीलाई खाने धान छुट्याउँछु, बचेको धान बेचेर केटाकेटीको पढाइलगायत काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ। बेमौसमी भारी वर्षाले सबै सपना चकनाचुर पारिदियो’, थारूले भनिन्, ‘महाजनलाई कसरी ठेक्काको रकम तिर्ने रु उत्पादन त राम्रै हुन्छ तर पानीले सत्यानाश पार्छ।’ 

उनले गहुँ पनि पानीले बिगारेको सुनाइन्। ‘कहिले बाढीले दुःख दिन्छ कहिले वर्षाले। कसरी जीवन निर्वाह गर्ने हो रु सरकारले राहत पनि दिँदैन। दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन’, उनले भनिन्, ‘आफ्नो जग्गा छैन। ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ। काटेर खेतमा राखेको करिब १५ क्विन्टल धान खेतमै पानीले डुबायो। धान सडेर गन्हाएको छ। अब कसरी वर्षभरिको गर्जो टर्छ रु’

बर्दियाकै गुलरिया कोठियाकी मुक्तकमैया परिवार तारा चौधरीलाई अब वर्षभरि साँझ–बिहानको छाक कसरी टार्ने भन्ने पिरलो छ। ‘काटेको धान पानीले डुबायो। धेरै अनाज नोक्सानी भयो’, चौधरीले भनिन्, ‘राहतको त के कुरा, पीडित किसानलाई जताबाट पनि आहत छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस