बैंक लुट्ने समूह सार्वजनिक, गार्मेन्ट व्यापारमा घाटा लागेपछि यसरी बन्यो बैंक लुट्ने योजना

सफल खबर संवाददाता

बुधबार, २७ असोज २०७८, १८ : २९
बैंक लुट्ने समूह सार्वजनिक, गार्मेन्ट व्यापारमा घाटा लागेपछि यसरी बन्यो बैंक लुट्ने योजना

विराटनगर  । मोरङको धनपालथान गाउँपालिका–४, कर्सियाको बीपी चोकस्थित सिटीजन्स बैंकको शाखामा भएको लुटपाटमा संलग्नमध्ये पक्राउ परेका मुख्य योजनाकारसहित ३ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य योजनाकार विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी हुन् ।

पक्राउ परेका सुनील यादवले प्रयोग गरेको कटुवा पेस्तोल र एक राउन्ड गोली, घाइते विजय सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

सुरुआती अनुसन्धानमा पहिचान भएका घटनामा संलग्न थप ६ जनाको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । उनका अनुसार सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र अन्य दुई बाहिर देखिन्छन् । लुटेरामध्ये कसले केमा हालेर रकम लिएर गयो र एक पछि अर्को गर्दै कसलाई दियो भन्ने प्रष्ट भइसकेको एसपी जीसीले बताए ।

उनका अनुसार बैंकमा रकम लुटको क्रममा हतारोमा आफैँले बोकेको पेस्तोलबाट गोली चलेर घाइते भएका विजय सहनीलाई लिएर भारततिर भाग्ने क्रममा धनपालथान गाउँपालिका–२, खयरबना चोकबाट तीन जना पक्राउ परेका थिए । लुटेराहरुले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकलसमेत बरामद भएको जीसीले बताए । एसपी जीसीका अनुसार बैंकबाट लुटेको झन्डै २२ लाख रुपैयाँ लिएर लुटेराहरुमध्येका अर्को समूह फरार छ ।

प्रहरीका अनुसार सोमबार अपराह्न एक्कासी बैंकभित्र प्रवेश गर्ने क्रममा लुटेरा समूहमध्येका दुई जनाले सुरक्षा गार्ड ३८ वर्षीय शीतल कुमालको खुकुरी खोसेपछि पेस्तोल ताकेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रतिकार गर्दा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको दुवैतिरको पातामा लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीमध्ये एक गोली छेडेर र अर्को छोएर गएको थियो ।

घटनालगतै उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका कुमालको अवस्था खतरामुक्त रहेको एसपी जीसीले जानकारी दिए । पक्राउमध्ये विजय र पहिचान भएका अधिकांश फरारहरुलाई विभिन्न अपराधमा भारतीय प्रहरीले खोजी गरिरहेको एसपी जीसीले बताए । उनका अनुसार दुवैतिरको प्रहरीले मिलेर उनीहरुको खोजी गरिरहेका छौँ ।

गार्मेन्ट व्यापारमा घाटा लागेपछि निराशामा रहेका मुखियाले भारतीय लुटेराहरुसँग सम्पर्क गरेर घटना हुनु दुई साता अगाडि मात्र लुटको योजना बनाएको उनले बताए । एसपी जीसीका अनुसार घटनामा संलग्नहरुलाई डाका, हातहतियार एवं खरखजाना, ज्यान मार्ने उद्योग एवं संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको छ ।