उपसभामुख जनता समाजवादीलाई दिने सत्तारुढ गठबन्धनको समझदारी

सफल खबर संवाददाता

बुधबार, २७ असोज २०७८, १४ : १२
उपसभामुख जनता समाजवादीलाई दिने सत्तारुढ गठबन्धनको समझदारी

काठमाडौँ । सत्तारुढ गठबन्धनले उपसभामुख चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उपसभामुख जनता समाजवादी पार्टी (जसपा) लाई दिने समझदारी बनेको गठबन्धनका नेताहरुले बताएका छन्।

२०७६ माघ ६ गते शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएयता सो पद रिक्त छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच छिट्टै उपसभामुख चयन गर्ने समझदारी बनेको हो। प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ। हाल नेकपा माओवादीका अग्नि सापकोटा सभामुख छन्। उपसभामुख आफ्नो पार्टीलाई दिने समझदारी बनेको जसपाका एक नेताले दाबी गरे।

ती नेताले नेपालखबरलाई बताएअनुसार मन्त्रालय भागबण्डाको टुंगो लगाउँदा नै उपसभामुख जसपालाई दिने समझदारी भएको हो। पटकपटक बसेको शीर्ष नेतासहितको बैठकमा यसबारे छलफल भएको उनले बताए। ‘जसपालाई उपसभामुख दिन गठबन्धनमा सहमति जुटिसकेको छ,’ उपेन्द्र यादवनिकट ती नेताले भने। उनका अनुसार जसपाभित्र समेत यसबारेमा छलफल भइरहेको छ। 

गठबन्धनमै रहे पनि राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने र उपसभामुख पनि नलिने प्रष्ट पारिसकेको छ। ‘जनमोर्चाले उपसभामुख नलिने स्पष्ट पारिसकेको छ, एकीकृत समाजवादीको भागमा २ वटा प्रदेशको मुख्यमन्त्री परिसकेको छ, कांग्रेसले सरकारकै नेतृत्व गरिसक्यो,’ ती नेताले थपे ‘अब जसपालाई व्यवस्थापिकाको दोस्रो नेतृत्व दिन गठबन्धनका सबै दल सहमत भएका हुन्।’

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि शीर्ष नेताहरुबीच जसपाको सम्मानजनक उपस्थितिका विषयमा समझदारी बनेको बताए। केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वमा नयाँ सरकार बनाउन सबै पार्टीको भूमिका महत्वपूर्ण भएकैले जसपालाई असन्तुष्ट बनाउन नहुनेगरी र सबैले जित्नेगरी समझदारी बनेको महरा बताउँछन्।
 

प्रतिक्रिया दिनुहोस