कर्णालीमा यात्रुलाई हवाई टिकट पाउनै मुस्किल

रासस

सोमबार, २५ असोज २०७८, १२ : ४७
कर्णालीमा यात्रुलाई हवाई टिकट पाउनै मुस्किल

सिमकाेट । नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दसैँं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ ।

अन्य जिल्ला बाहिरबाट रोजगारी तथा कामको सिलसिलामा हुम्ला पुगेका नागरिकलाई यो समय टिकट पाउन मुस्किल हुने गरेको गुनासो आउन थालेको छ । नेपालगञ्ज तथा सुर्खेत जानका लागि सिमकोट विमानस्थलमा बिहानको समयमा टिकटका लागि यात्रुको चाप बढी हुने भए पनि जिल्ला बाहिरिनेका लागि टिकट पाउन मुस्किल हुने गरेको छ ।

दशैँको समयमा नेपालगञ्ज तथा सुर्खेतबाट उडान भर्दै आएका निजी एयरलाइन्स सीता, तारा र समिटले कम उडान भरेका कारण यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । अन्य समयमा सुर्खेत, नेपालञ्जबाट दैनिक १५ भन्दा बढी उडान भर्दै आएका निजी जहाजले यो समय एक दुई उडान भरेका कारण जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

दशैँ तिहारको समयमा एकैपटक ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले विमानस्थलमा चाप बढ्नाका साथै टिकट पाउन मुस्किल हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस