वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्छ : नवनियुक्त संचारमन्त्री कार्की

पत्रपत्रिकाबाट

शनिबार, २३ असोज २०७८, ०७ : ५७
वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्छ : नवनियुक्त संचारमन्त्री कार्की

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन् ।  शुक्रबार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले त्यस काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गरे । नवनियुक्त मन्त्री कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने पनि बताउनुभयो । स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यतामा वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले समाजको अपेक्षा अनुसार आफू अघि बढने र त्यसमा मन्त्रालयका सचिवसहितका सबै कर्मचारीहरुको पनि उत्तिकै सहयोग पुग्ने अपेक्षा समेत रहेको बताए ।

उनले भने, ‘स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यता हामी राख्दछौं । त्यसैले प्रेस स्वतन्त्रताको पक्षमा वर्तमान सरकार सधैंभरी उच्च सम्मान र आदरका साथ अगाडि बढनेछ । समग्रतामा पत्रकारिता क्षेत्रको विकासलाई मैले प्रोत्साहन गर्नेछु । र मैले तपाईहरुलाई यति मात्रै भन्न चाहन्छु–समाजले हामीबाट के अपेक्षा गरेको छ, एउटा मन्त्रीबाट के अपेक्षा गरेको छ ।

सचिवबाट के अपेक्षा गर्छ ? त्यो अपेक्षालाई हामीले कर्तव्यबोधका साथ उत्साह र इमान्दारिताका साथ अघि बढन सक्यौ भनेदेखि हामीले समाजमा परिवर्तनको संकेतहरु दिन सक्छौं । त्यतातिर हामी सबैले ध्यान केन्द्रित गर्न जरुरी छ । र मैले राजनीतिक नेतृत्व सम्हाल्दा यहाँहरुलाई विश्वास र भरोसा गरेर नै अगाडि बढनेछु । मेरो कार्यकालमा यो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउनका निमित्त मेरो सम्पूर्ण प्रयत्न केन्द्रित रहनेछ ।’ मन्त्री कार्कीले जनताको सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस