देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १५ : ०६
देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

काठमाडौं । नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन् । 

बिहीवार पत्रकारसंग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मको शिक्षा जिवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उनले बताइन् ।

स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उनले जोड दिइन् । विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन् । उनले भनिन् ‘अब हामीले हाम्रा नीतिहरुमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीति अनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरु छन् ।

१२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किदैन हाम्रो सबैभन्दा ठुलो चुनौतीको विषय यो हो । आफ्नो स्थानीय तहको स्रोत, साधन झल्किनेगरी स्थानीय तहले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरुलाई प्रविधिमैत्री बनाउनुपर्छ ।’

उनले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताइन् । समय फेरिएको उल्लेख गर्दै उनले परिवर्तित समयानुकुल संगठनले भुमिका र कार्यशैली बदल्नुपर्ने बताइन् । पछिल्ला दिनहरुमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरु ओझेल परेजस्तो देखिएको भन्दै उनले अब भने संगठनको कामलाई व्यवस्थित गरिने उनले बताइन् ।

उनले भनिन् ‘पछिल्लो ४ वर्ष यताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी संगठनहरु कतै अल्मल्लिएकी भन्ने कुरा स्वभाविक छ । किनकी हामी आफैलाई चित्त बुझ्नेगरी भुमिका निर्वाह गर्न सकेका छैनौँ । तर अब विद्यार्थी संगठनको मुख्य कार्यक्षेत्र भनेको शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय नै हो । कहिकतैँ अल्मल्लिएजस्तो भएको हाम्रो सांगठनिक संरचना, जीवन र कामहरुलाई व्यवस्थित गर्दै अगाडी जानुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस