एमाले विधान महाधिवेशन : ओली नहुँदा ओलीकै आलोचना

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, ०८ : २२
एमाले विधान महाधिवेशन : ओली नहुँदा ओलीकै आलोचना

काठमाडौं । नेकपा एमालेमा केपी ओली भनेकै एमाले र एमाले भनेकै केपी ओली जस्तो पर्यायवाची बनाउन खोजिएको छ । विद्यान महाधिवेशन स्थलमा ओलीको महिमामण्डनका लागि देखाइएको सजावट, डमी ओलीका पोष्टरदेखि ओलीमय बनाएको वातावरणमा एमालेकै नेताहरुको असन्तुष्टि बढेको छ ।

उद्घाटन सत्रको सुरुमै ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै गर्दा ज्वरो आएको र थकित भएको भन्दै आधा नहुँदै शंकर पोखरेललाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएका थिए । त्यसपछि उनी बैठकमा सहभागी भएका थिएनन्। शनिबारको बन्द सत्रमा ५ वटा समूहका नेताले रिपोटिङ राख्दा अधिकांश समूहले ओलीको पार्टीभित्र बढ्दो महिमा मण्डनको आलोचना गरेका छन् ।

ओलीकै कार्यशैली र व्यवहारकै कारण एमाले र माओवादी केन्द्रको एकता नटिकेको भए पनि एमाले समेत ओलीकै कारण विभाजन भएको थियो । त्यसमा माधव नेपाललगायत नेताहरुले ओलीको शैली र कार्यशैली सामन्ती सस्कारको भएको ओलीमा मैमत्तावाद हावी भएको र ओलीका कारण कम्युनिष्ट आन्दोलन धाराशाही भएको भन्दै अलग्गै पार्टी निर्माणमा लागेका थिए  ।

तर त्यसलाई वेवास्ता गर्दै एमालेको विधान महाधिवेशनमा ओलीमय वातावरण निर्माणमा खर्चेको समयले एमालेमा ओलीको महिमागान अध्याधिक बढेर गएको छ । यसको आलोचना एमालेमा सैद्धान्तिक धरातलमा उभिएका नेताहरुले गरेका छन् । ओली भने उनको महिमागानको आलोचना भइरहेका बेला अनुपस्थित थिए । उनी भने अस्वस्थ्य भएको भन्दै शनिबारको बैठकमा सहभागी थिएनन् ।

व्यक्तिलाई ब्रान्डिङ गरेर जाने कुरा ठिक नभएको भन्दै ओली कुनै ब्रान्ड नभएको प्रतिनिधिहरुले टिप्पणी गरेका छन् । तर ओलीका भक्तिगान गाउने नेताहरुले भने केपी ओली आइलभ यु भन्नेदेखि उनी बैठकस्थलमा पुग्दा गर्ने स्कटिङसम्मले ओलीलाई निक्कै ब्रान्डिङ गरेर जान खोजेका देखिएका छ।

व्यक्तिवादी तरिकाले नभई पार्टीलाई सामूहिकतामा चलाउन नेताहरुले जोड दिए पनि एमालेमा सामुहिकता हराउँदै गएको टिप्पणी प्रतिनिधिहरुले उठाएका छन् । ओलीलाई महिमामण्डन गरेर पार्टी व्यक्ति केन्द्रित बनाउन खोजेको आरोप एमालेभित्र उठेको छ । यसको जवाफ ओलीले कसरी दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस