शक्ति प्रदर्शन शैलीमा एमालेको विधान महाधिवेशन

पत्रपत्रिकाबाट

शनिबार, १६ असोज २०७८, ०८ : ३२
शक्ति प्रदर्शन शैलीमा एमालेको विधान महाधिवेशन

काठमाडौं । विभाजनको चोटसँगै शुक्रबार सुरु भएको विधान अधिवेशनमा एमालेले आगामी चुनावमा बहुमत प्राप्त गर्ने महत्त्वाकांक्षी रणनीति अघि सारेको छ। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन दुवैमा यसलाई समेटिएको छ।

अघिल्लो चुनावसँगै भएको माओवादीसँगको एकता मात्र यसबीच भत्किएको छैन, अलग्गिएको एमालेसमेत फुटेको छ। झन्डै दुई तिहाइको दलको नेतृत्व गरेका ओलीसँग आफ्नो दलमा अब करिब सय सांसद मात्र छन्। पार्टी सरकारबाट बहिर्गमन भइसकेको छ। यस्तो अवस्थामा उनले पार्टीलाई बहुमतसहित ठूलो दल बनाउने योजना ल्याएका हुन्। 

ओलीको प्रतिवेदनको ‘आगामी कार्यभार’ खण्डको (ख) मा भनिएको छ, ‘आगामी निर्वाचनमा पार्टीलाई बुहमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने।’ प्रतिवेदनमा पश्चगामी षड्यन्त्रलाई विफल पार्दै समृद्धिको यात्रालाई निरन्तरता दिने सर्वोपरि महत्त्वको कार्यभार पार्टीका सामु रहेको उल्लेख छ। ‘यसका लागि पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनस्र्थापित गर्नु अनिवार्य पूर्वसर्त हो,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यिनै दुई मुख्य कार्यभारले हाम्रा अन्य कार्यभारलाई दिशानिर्देशित गर्छन्।’ गत असार २८ गते सर्वोच्च अदालतको परमादेशले ओली सत्ताबाट बाहिरिएका हुन्। 

एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई समाजको समग्र रूपान्तरणको समष्टिगत अवधारणारूप ग्रहण गरेको छ। माक्र्सवाद, लेनिनवाद र जबजलाई एमालेले मार्गनिर्देश सिद्धान्तको मान्दै आएको छ। एमालेले जबजलाई पाँचौं महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम र छैटौं महाधिवेशनबाट नेतृत्वकारी विचारका रूपमा ग्रहण गरेको थियो। आठौं राष्ट्रिय महाधिवेशनबाट जबज नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित भएको थियो। २०५१ सालमा बनेको एमालेको अल्पमतको सरकार र त्यसले अगाडि बढाएका प्रगतिशील सुधारका कामले जबजलाई समाजमा स्थापित गर्न महत्त्वपूर्ण योगदान गरेको ओलीको प्रतिवेदनमा छ। 

‘नेपालको विशिष्ट परिस्थितिअनुरूप क्रान्तिलाई मौलिक बाटोबाट अगाडि बढाउन, प्रतिकूल अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाउन, प्रतिक्रियावादी एवं प्रतिक्रान्तिकारी हमलाबाट आन्दोलन रक्षा गर्न, पार्टीलाई जनताका बीचमा लोकप्रिय एवं सुदृढ जनाधारसहित स्थापित गर्न र वैधानिक ढंगबाट आन्दोलनलाई अगाडि बढाउन, नेकपा (एमाले) र जबजको उल्लेखनीय योगदान छ’, ओलीको प्रतिवेदनमा छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस