युवा स्वरोजगार कोषले युवाहरुलाई दिने रकममा वृद्धि गर्ने

आइतबार, ०९ बैशाख २०७५, १५ : २७
युवा स्वरोजगार कोषले युवाहरुलाई दिने रकममा वृद्धि गर्ने

काठमाडौँ । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताउनुभयो ।

कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज)मा ऋण दिने गरेको छ । पहिले रु दुई लाख दिँदा बिना धितो दिने गरेकामा अहिले भने रु पाँच लाखसम्मको ऋण धितोमा दिने भएको हो ।

‘‘आजभन्दा १० वर्षअघि दिइने रकमले अहिलेको परिस्थितिमा व्यवसाय गर्न कठिन भएको छ”, उहाँले भन्नुभयो, “त्यसैले महँगीअनुसार रु दुई लाखदेखि रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने छौँ ।” कोषले गरिबी, पिछडिएका, सीमान्तकृत, कृषक मजदूरलगायतलाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गर्ने उहाँ बताउनुभयो ।

विसं २०६५ मा कोषले युवालाई व्यवसाय सञ्चालन गर्नका लागि रु दुई लाख सहुलियत दरमा ब्याज दिने गरेको थियो । यस्तै कोषले २० जना युवाको समूहलाई रु एक करोडसम्म सहुलियत दरमा ऋण प्रवाह गर्ने भएको छ ।

एकजनालाई रु पाँच लाखको दरले रु एक करोडसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा दंगालले जानकारी दिनुभयो । कुनै ठाउँका युवा समूहलाई उद्यम सञ्चालन गर्नका लागि रु एक करोडसम्म दिने उहाँले बताउनुभयो । कोषले सहकारी र बैंकमार्फत उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि ऋण प्रवाह गरिरहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस