काठमाडौँ । रामेछाप जिल्लामा सोमबार भएको सवारी दुर्घटनामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पताल पुगेर जानकारी लिएका छन्।
गृहमन्त्री अर्यालसहितको प्रतिनिधिमण्डलले छाउनीस्थित नेपाली सेना अन्तर्गत सञ्चालित सैनिक अस्पतालमा उपचाररत घाइतेसँग भेटघाट गरी चिकित्सकबाट स्वास्थ्य अवस्थाबारे विवरण लिएको हो।
रामेछाप नगरपालिका-२, सिरुबारी क्षेत्रमा भएको उक्त दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए। सबै घाइतेको उपचार छाउनीस्थित सैनिक अस्पतालमा जारी रहेको छ।
दुर्घटनामा परी नेपाल प्रहरी का सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै निधन भएको थियो।
अस्पताल प्रशासनका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। अन्य घाइतेहरू भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन्।
छाउनी अस्पतालकी चिकित्सक तथा सहायक रथी डा. नम्रता महरा ले घाइतेहरूको उपचार प्रक्रिया निरन्तर भइरहेको जानकारी दिएकी छन्।
उक्त बस मन्थलीबाट कालीका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुर्याउने क्रममा ना ७ ख ६७६८ नम्बरको सवारी साधन सडकबाट करिब १०० मिटर तल खसेको थियो।
गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै उपचार व्यवस्थापनमा राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्। सो अवसरमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्लेसहितका उच्च अधिकारीहरू पनि उपस्थित रहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै