ईपीएलमा काठमाडौँ र विराटनगरको खेल स्थगित

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १४ : १८
ईपीएलमा काठमाडौँ र विराटनगरको खेल स्थगित

काठमाडौं । राजधानीमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल अन्तर्गत सोमबार हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ ।

निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियोट्सलाई पराजित गरेको थियो । यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौँ आएका थिए ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस