काठमाडौं । एमालेबाट विभाजित भई गठन भएको माधव नेपालको नयाँ पार्टीले पार्टीको आगामी रणनीति तय गरेको छ । उसले पार्टीको केन्द्रीय समिति बैठकबाट आउने चुनावसम्ममा अवलम्वन गर्ने रणनीति तय गरेको एक नेताले बताए । नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक असोज ५ देखि ७ सम्म काठमाडौंमा बसेको थियो ।
यस्ता छन् नेकपा एकीकृत समाजवादीको रणनीति :
१) सत्ताको आडमा संगठन बिस्तार
नेकपा एकीकृत समाजवादी केन्द्र देखि प्रदेश सरकारसम्म सत्ता गठबन्धन दलसँगको सहकार्यमा सरकारमा जाने भएको छ । सरकारमा रहँदा पाइने भागवन्डाका नियुक्ति देखि सरकारका मन्त्री सम्मलाई उपयोग गरेर जनतासँगको सम्बन्ध विस्तार गर्ने रणनीति उसको छ । एमाले विभाजन भएपछि संगठन गाउँतहसम्मै फैलाउन र संगठन सुढृढीकरण गर्दै लैजान अधिकतम पार्टीले पाउने मन्त्रालयमार्फत जनताको सेवा गर्ने नीति नेकपा एकीकृत समाजवादी लिने जनाएको छ । अधिकतम जनतासँगको सम्बन्ध बनाउने गरी अगाडी जाने र सरकारको आडमा संगठन मजबुत बनाउने नीति पार्टीको हुने ति नेताले बताए ।
२) कम्तीमा आगामी संसदको चुनावसम्म गठवन्धन निर्माण
माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले कम्तीमा आगामी संघीय संसदको चुनावसम्म अहिले बनेको सत्ता गठबन्धन जोगाएर जाने नीति लिने भएको छ । सक्दा आगामी निर्वाचन पछिको ५ वर्षे सरकारसम्म नभएपनि चुनाव सम्म सत्ता गठबन्धन कायमै गर्ने नीति नेकपा एकीकृत समाजवादीले बनाएको छ ।
एमालेसँग पार्टी विभाजन गर्दा कमजोर धरातलबाट संगठन विस्तार गर्नुपर्ने र आफुलाई मजबुत बनाउँदै जानु परेको कारण गठबन्धनमा ध्यान दिनुपर्नेछ । त्यसकारण उसले संसदको पूर्ण कार्यकाल सञ्चालन र गठबन्धनमा जोड दिने नीति लिएको छ ।
३) आगामी चुनावी रणनीति
नेकपा एकीकृत समाजवादीले आगामी स्थानिय तह, प्रदेश र संघीय चुनावमा आफ्नो पार्टी कसरी चुनावी कार्यक्रममा सहभागी हुने भन्नेमा पनि मोटामोटी रणनीति बनाएको छ । चुनावमा मुख्यतः माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) सँग सम्पूर्ण रुपमै र कांग्रेससँग महत्वपूर्ण स्थानमा चुनावी गठबन्धनको रणनीति नेकपा एकीकृत समाजवादीको हुनेछ ।
सचिव रामकुमारी झाँक्रीका अनुसार, स्थानिय तहको चुनावमा देशैभरका हरेक वडामा कम्तीमा पनि एक पदमा नेकपा एकीकृत समाजवादीले चुनावी प्रतिस्पर्धा गर्नेछ । कतिपयमा वडा अध्यक्ष, नभए पनि वडा सदस्य भएपनि गठबन्धन गरेरै भएपनि प्रत्येक वडामा चुनावी प्रतिस्पर्धामा भाग लिने सचिव झाँक्रीले बताइन् ।
पालिका स्तरमा पनि त्यही अनुसारको रणनीति बनाउने र सक्दा आफ्नै नेतृत्वमा चुनावी प्रतिस्पर्धा गराउने नीति पनि नेकपा एकीकृत समाजवादीको हुनेछ । प्रदेशमा पनि मुख्यतः माओवादी केन्द्र, जसपासँग चुनावी तालमेल गर्ने र मुख्य मुख्य स्थानमा कांग्रेससँग पनि चुनावी गठबन्धन गर्ने उसको पार्टीको नीति हुनेछ । प्रदेशमा आवश्यकताका आधारमा भन्ने नीति उसको हुनेछ । केन्द्रमा १६५ वटै निर्वाचन क्षेत्रमा उसले चुनावमा भाग लिनेछैन् । गठबन्धन गरेर कति सिट आफ्नो पक्षमा पर्छ, त्यही आधारमा भाग लिनेछ ।
४) माओवादीसँग तत्काल पार्टी एकता नहुने
माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नगर्ने नीति पनि उसले बनाएको छ । आउने चुनावसम्म आफ्नै वलवुतामा निर्वाचनमा जाने र त्यसपछिको अवस्था हेरेर थप निर्णयमा जान सकिएपनि अहिले तत्काललाई भने माओवादी केन्द्रसँग एकता नहुने नीति उसले बनाएको छ ।
उसले पहिले आफ्नो पार्टीका युवा नेताले खोलेको (नेकपा–एकीकृत) का जीवन राईसँग पार्टी एकता गर्ने नीति बनाएको छ । राईलाई केन्द्रीय सदस्य दिएर उसको पार्टीसँग रहेको कलम चुनाव चिन्ह् लिने गरी एकताको भित्री प्रयास पनि माधव नेपालको पार्टीले बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल