माधव नेपालको यस्ता छन् अबका ४ रणनीति

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, ०८ : ५६
माधव नेपालको यस्ता छन् अबका ४ रणनीति

काठमाडौं । एमालेबाट विभाजित भई गठन भएको माधव नेपालको नयाँ पार्टीले पार्टीको आगामी रणनीति तय गरेको छ । उसले पार्टीको केन्द्रीय समिति बैठकबाट आउने चुनावसम्ममा अवलम्वन गर्ने रणनीति तय गरेको एक नेताले बताए । नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक असोज ५ देखि ७ सम्म काठमाडौंमा बसेको थियो ।

यस्ता छन् नेकपा एकीकृत समाजवादीको रणनीति :

१) सत्ताको आडमा संगठन बिस्तार
नेकपा एकीकृत समाजवादी केन्द्र देखि प्रदेश सरकारसम्म सत्ता गठबन्धन दलसँगको सहकार्यमा सरकारमा जाने भएको छ । सरकारमा रहँदा पाइने भागवन्डाका नियुक्ति देखि सरकारका मन्त्री सम्मलाई उपयोग गरेर जनतासँगको सम्बन्ध विस्तार गर्ने रणनीति उसको छ । एमाले विभाजन भएपछि संगठन गाउँतहसम्मै फैलाउन र संगठन सुढृढीकरण गर्दै लैजान अधिकतम पार्टीले पाउने मन्त्रालयमार्फत जनताको सेवा गर्ने नीति नेकपा एकीकृत समाजवादी लिने जनाएको छ । अधिकतम जनतासँगको सम्बन्ध बनाउने गरी अगाडी जाने र सरकारको आडमा संगठन मजबुत बनाउने नीति पार्टीको हुने ति नेताले बताए ।

२) कम्तीमा आगामी संसदको चुनावसम्म गठवन्धन निर्माण
माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले कम्तीमा आगामी संघीय संसदको चुनावसम्म अहिले बनेको सत्ता गठबन्धन जोगाएर जाने नीति लिने भएको छ । सक्दा आगामी निर्वाचन पछिको ५ वर्षे सरकारसम्म नभएपनि चुनाव सम्म सत्ता गठबन्धन कायमै गर्ने नीति नेकपा एकीकृत समाजवादीले बनाएको छ ।

एमालेसँग पार्टी विभाजन गर्दा कमजोर धरातलबाट संगठन विस्तार गर्नुपर्ने र आफुलाई मजबुत बनाउँदै जानु परेको कारण गठबन्धनमा ध्यान दिनुपर्नेछ । त्यसकारण उसले संसदको पूर्ण कार्यकाल सञ्चालन र गठबन्धनमा जोड दिने नीति लिएको छ ।

३) आगामी चुनावी रणनीति
नेकपा एकीकृत समाजवादीले आगामी स्थानिय तह, प्रदेश र संघीय चुनावमा आफ्नो पार्टी कसरी चुनावी कार्यक्रममा सहभागी हुने भन्नेमा पनि मोटामोटी रणनीति बनाएको छ । चुनावमा मुख्यतः माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) सँग सम्पूर्ण रुपमै र कांग्रेससँग महत्वपूर्ण स्थानमा चुनावी गठबन्धनको रणनीति नेकपा एकीकृत समाजवादीको हुनेछ ।

सचिव रामकुमारी झाँक्रीका अनुसार, स्थानिय तहको चुनावमा देशैभरका हरेक वडामा कम्तीमा पनि एक पदमा नेकपा एकीकृत समाजवादीले चुनावी प्रतिस्पर्धा गर्नेछ । कतिपयमा वडा अध्यक्ष, नभए पनि वडा सदस्य भएपनि गठबन्धन गरेरै भएपनि प्रत्येक वडामा चुनावी प्रतिस्पर्धामा भाग लिने सचिव झाँक्रीले बताइन् ।

पालिका स्तरमा पनि त्यही अनुसारको रणनीति बनाउने र सक्दा आफ्नै नेतृत्वमा चुनावी प्रतिस्पर्धा गराउने नीति पनि नेकपा एकीकृत समाजवादीको हुनेछ । प्रदेशमा पनि मुख्यतः माओवादी केन्द्र, जसपासँग चुनावी तालमेल गर्ने र मुख्य मुख्य स्थानमा कांग्रेससँग पनि चुनावी गठबन्धन गर्ने उसको पार्टीको नीति हुनेछ । प्रदेशमा आवश्यकताका आधारमा भन्ने नीति उसको हुनेछ । केन्द्रमा १६५ वटै निर्वाचन क्षेत्रमा उसले चुनावमा भाग लिनेछैन् । गठबन्धन गरेर कति सिट आफ्नो पक्षमा पर्छ, त्यही आधारमा भाग लिनेछ ।

४) माओवादीसँग तत्काल पार्टी एकता नहुने
माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नगर्ने नीति पनि उसले बनाएको छ । आउने चुनावसम्म आफ्नै वलवुतामा निर्वाचनमा जाने र त्यसपछिको अवस्था हेरेर थप निर्णयमा जान सकिएपनि अहिले तत्काललाई भने माओवादी केन्द्रसँग एकता नहुने नीति उसले बनाएको छ ।

उसले पहिले आफ्नो पार्टीका युवा नेताले खोलेको (नेकपा–एकीकृत) का जीवन राईसँग पार्टी एकता गर्ने नीति बनाएको छ । राईलाई केन्द्रीय सदस्य दिएर उसको पार्टीसँग रहेको कलम चुनाव चिन्ह् लिने गरी एकताको भित्री प्रयास पनि माधव नेपालको पार्टीले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस