एमालेलाई दोस्रो पुस्ता व्यवस्थापन गर्नै महाभारत !

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, ०८ : ०२
एमालेलाई दोस्रो पुस्ता व्यवस्थापन गर्नै महाभारत !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली वाहेकका अन्य नेताहरुलाई अबको महाधिवेशनमा आफ्नो स्थान कहाँ रहन्छ भन्ने चिन्ता देखिन थालेको छ । अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने र अध्यक्षमा दावी गर्ने हिम्मत एमालेभित्रका अन्य नेतामा नभए पनि पार्टीमा अध्यक्षपछि आफनो स्थान कहाँ हुन्छ भन्ने चिन्त जाग्न थालेको हो ।

उनीहरुले त्यही अनुसार आफू निकटका केन्द्रीय सदस्य उचालेर पदाधिकारीको संख्या थप गर्न लविङ गरेका छन् । पार्टीको असोज १५ देखि १७ सम्म विधान महाधिवेशन हुँदैछ । त्यसका लागि एमालेको केन्द्रीय समितिमा शुक्रबार र शनिबार दुई दिनसम्म विधान महाधिवेशनमा पेश गर्ने अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभागका प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्ताव माथि छलफल भएको थियो ।

पौडेलले ल्याएको प्रस्तावमा अध्यक्षपछि उपाध्यक्षको संख्या तीन जनामात्र बनाउने भनी प्रस्ताव आएको छ । तर त्यसमा नेताहरुले चित्त बुझाएका छैनन् । नवौं महाधिवेशनले एमालेको उपाध्यक्षको संख्या ५ जना सुनिश्चित गरेको थियो । विधान संशोधन प्रस्तावमा पहिले सुरुमा २ उपाध्यक्षको प्रस्ताव ल्याइएको थियो । तर त्यसभित्र अट्ने नेताहरुले नदेखेपछि अलिक संख्या थप गर्न अध्यक्ष ओलीसँग ओली भित्रकै समुहले लविङ गरे । त्यसपछि अर्काे थप एक उपाध्यक्ष बनाउने गरी संख्या त थपियो । तर त्यसमा पनि नेताहरुले आफनो भविश्य सुनिश्चित देखेनन् । त्यसपछि उनीहरुले पार्टी केन्द्रीय सदस्यमार्फत उपाध्यक्षको संख्या थप गर्न लविङ थालेका हुन् ।

अहिले एमालेमा उपाध्यक्षका लागि ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ आंकाक्षी छन् । त्यसअतिरिक्त अहिले उपाध्यक्ष नै रहेका अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुको पनि दावी छ ।
देखिने गरी नै उपाध्यक्षका आंकाक्षी झण्डै आधा जर्दन बढी र नदेखिने गरी करिव १५ जना जति नेताहरुके संख्या देखिने भएपछि नेताहरुले संख्या बढाएर आफना् स्थान सुरक्षित गर्न चाहेका हुन् । त्यही भएर उनीहरुले उपाध्यक्षको संख्या बढाउन माग गरेका हुन् ।

अहिले एमालेको केन्द्रीय कमिटिमा उपाध्यक्षको संख्या थप गरेर ७ जना पुराउनुपर्ने माग बढ्दो छ । त्यही दबाब केन्द्रीय सदस्यमार्फत नेताहरुले बढाएका छन् । त्यसो गर्दा ७ जनाभित्र कसो नपरिएला भनेर नेताहरुले लविङ गरेका हुन् । शुरुमा अध्यक्ष ओलीले विधानमा २ जना उपाध्यक्ष र अध्यक्ष महासचिवबाहेक पदाधिकारी निर्वाचित केन्द्रीय सदस्यले मनोनित गर्ने ब्यवस्था विधानमा राख्न चाहेका थिए । त्यसो गर्दा उपाध्यक्षलगायतका पदाधिकारी बन्न अध्यक्ष ओलीले चाहने ब्यक्ति बाहेक अन्यत्र ब्यक्ति आउने सम्भावना थिएन ।

उपाध्यक्षमा त्यस्तो अवस्थामा मझधारका नेतालाई छोडेर हेर्दा पनि ईश्वर पोखरेल, रामबहादुर थापा र सुवास नेम्वाङ र पृथ्वीसुब्बा गुरुङसहितका नेतालाई ब्यवस्थापन गर्नुपर्ने हुन्थ्यो । त्यसो गर्दा ओलीको चाकरीका लागि नेताहरुको झन दौडधुप बढ्ने देखियो । त्यसपछि ३ जनासम्म उपाध्यक्ष थप्ने प्रस्ताव आएको हो । अहिले महासचिव रहेका ईश्वर पोखरेल खासमा अध्यक्षमै प्रतिस्पर्धा गर्न चाहन्थे ।

ओलीले नेतृत्व छोड्ने र एउटै क्लास ओलीले दोहोराएर नपढ्ने भन्ने पहिले उद्घोष गरेका कारण यसपटक आफूलाई उनको उत्तराधिकारी बनाएर अध्यक्षमा उम्मेदवारी बनाउने छन् कि भन्नेमा थिए पोखरेल । तर एमाले विभाजित भएर माधव नेपालहरुले नयाँ पार्टी गठन गरेपछि ओली निर्विकल्प एमालेमा अध्यक्षको रुपमा प्रस्तुत हुने भए । त्यसपछि पोखरेल पनि उपाध्यक्षमा झर्नु पर्ने अवस्था निम्तेको छ । उनलाई दोहोराएर महासचिव बनाउने योजनामा ओली छैनन् । ओली महासचिवमा शंकर पोखरेल या अहिले उपमहासचिव रहेका विष्णु पौडेलमध्ये एकलाई ल्याउन चाहन्छन् ।

यसका कारण पनि उपाध्यक्षमा संख्या नेताहरुको धेरै हुने देखिएको छ । त्यसपछि नेताहरुले आआफनो स्थान सुरक्षित बनाउन उपाध्यक्षको संख्या थप गर्न माग गरेका हुन् ।  ७ उपाध्यक्ष बनाउने र सात ओटा प्रदेशको इन्चार्जको जिम्मेवारी दिने गरी योजना बनाउनुपर्ने माग एमालेमा उठेको छ ।