नेप्सेमा ‘बाउन्स ब्याक’,कारोबार रकम ६ अर्ब माथि

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १५ : २१
नेप्सेमा ‘बाउन्स ब्याक’,कारोबार रकम ६ अर्ब माथि

काठमाडौं । सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकको सुधार देखिएको छ । यस अघि मंगलबार नेप्से परिसूचक १३ अंकले बढेको थियो । नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलव ४७ अंकले बढेको छ । बुधबार बजारमा बाउन्स ब्याक आएको शेयर बजारका जानकार छोटेलाल रौनियार बताउँछन् । धेरै घटेर पुनः बजार बढ्दा त्यसलाई बाउन्स ब्याक भएको भनिन्छ ।

३ हजार २ सय अंकमा पुगिसकेको नेप्से परिसूचक २ हजार ६ सय नजिक झरिसकेको थियो । बजार घटबढको प्रक्रिया भए पनि लगातार धेरै घट्दा लगानीकर्ताहरु आत्तिएका थिए । केही लगानीकर्ताहरु बजारका विषयमा नकरात्मक नीति बनाएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन समेत गरिरहेका छन् ।

नेप्से परिसूचकमा बाउन्स ब्याक आए पनि कारोबारमा भने उल्लास देखिएको छैन । दिनभरमा भएका ७२ हजार ७१४ कारोबारबाट १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगिसकेको छ । बजार उच्च अंकले बढ्दा एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस